अन्तरजातिय विवाह गरेकी लक्ष्मी वर्देवा लेख्छिन्, ‘यस्तो अवस्थामा हात काम्दो रहेछ’

कलाकार लक्ष्मी वर्देवाले गत साल प्रेमी जीवन भट्टराईसँग अन्तरजातिय विवाह गरिन् । आफ्नो अन्तरजातिय प्रेम विवाह बारे खुलेर कुरा गर्ने लक्ष्मी जाजरकोटमा अन्तरजातिय प्रेम र विवाह प्रयासपछि नवराज विकको हत्या खबरले भने झस्किएकी छिन् । यो खबर बाहिरिएदेखि उनको मनमा शान्ति छैन् । जातकै कारण हत्यासम्म गर्ने नेपाली समाजप्रति लक्ष्मीको मनमा घृणा पैदा भएको । लक्ष्मी वर्देवाको यो आक्रोशपुर्ण लेख पढ्नुस् ।

लक्ष्मी वर्देवा र उनका श्रीमान जीवन भट्टराई

लेख्ने, भन्ने कुरा कैयौं भए पनि यस्तो अवस्थामा हातहरु काम्दो रहेछ । तर डरले होइन, घृणाले । रुकुममा हालै भएको घटना पढेपछि मैले कैयौं पटक आफैलाई प्रश्न गरे “मान्छे भएर मान्छेलाई कुटपिट गरेर हत्या नै गर्न ती आपराधिक मानसिकतालाई के कुराले प्रेरित गर्यो होला ? जातले ? हुन त यो न पहिलो घटना हो र दुःखको कुरा न मैंले चाहेर यो अन्तिम नै हुनेछ । प्रेमले त संसार जितिन्छ भन्ने कुरा त पढ्न मात्रै पो मजा आउने रहेछ । यहाँ त सजाए “मृत्युु दण्ड“ थियो र अपराध “प्रेम“ ! जातिय विभेदको यो भन्दा पराकाष्ठा के हुन सक्ला र ? अझ जब थाहा हुन्छ कि समाज सुधारक भनौदाहरुले यस्ता अपराधहरुमा खुलेआम सहभागिता जनाएर नेतृत्व गरिरहेका थिए त्यति बेला म महसुस गर्न सक्छु कि म कुन हदसम्मको निकम्मा समाजमा “मान्छे मान्छे एउटै हो फरक किन भो“ भन्दै बेफ्वाकमा नारा लाइरहेको रहेछ ।

कथित तल्लो जात भएर स्व घोषित माथिल्लो जातको व्यक्ति सँग प्रेम गरेकै भरमा हत्या गरिनुले समाज अझै पनि कहाँ नीर अल्झिएको छ सहजै अनुमान लगाउन सकिन्छ । कहिले सामाजिक रुपमा प्रयोगमा आउने किरिया घरमा किरिया पुत्रिलाई बस्न दिइन्न, कथित तल्लो जात भएकै भरमा । यस्तो समाचार पढ्दै गर्दा लाग्छ नेपालीको वर्ग छुट्ट्याइएका छन । यो बर्गको नेपालीले यो गर्न पाउने र त्यो वर्गले यो गर्न नपाउने भनेर । खुलेआम लाहछाप लाउन मात्र बाँकी छ । जातिय आधारलाई नै लिएर घटेका यस्ता अपराधिक क्रियाकलापहरुले कुन हदसम्मको सामाजिक दुरी र हिंसा पैदा गर्न सक्छ त्यो कल्पना भन्दा बाहिरको कुरा हो ।

यो त एक प्रतिनिधि घटना मात्रै हो यस्ता विगतमा घटेका कैयौं घटनाहरु होलान् जुन सायद कहिले बाहिर आएनन्, कति लुकाइए, कति कानुनी रुपमा अघि बढाइएन र बढी हालेपनि मिलापत्रको नाममा पीडितका आफन्तहरुलाई डर धम्की र लालच दिएर भित्र भित्रै गुमनाम पारिए । चेतनास्तरमा वृद्धि नभएसम्म र एक अर्काको अस्तित्व स्विकार नभएसम्म यस्ता घटनाहरु दोहोरिन्छन्, तेहेरिन्छ्न र बारम्बार घटिरहन्छन् । अस्तित्वको लागि नामको पछाडी जोडिएको थरको कारणले नै उसैको अस्तित्व नै नष्ट पार्न सक्ने यो चिज “जात“ यति बलवान् कसरी भयो त ? म ठम्याउन सक्दिंन । तर यहि बलवान् कहलिएको कुराले मानिसमा बाँकी भएको मानवतालाई कसरी कमजोर बनाउँदै छ म बुझ्न सक्छु ।

यति पढेपछि यदि हामी फेरि फलाना जातले गर्दा यस्तो घटना भयो ढिस्कना जातले गर्दा यस्तो भयो भनेर एक अर्कामा आरोप प्रत्यारोप लाउँछौ भने हामी पुनः त्यही गल्ती दोहोर्याउँने छौं । सायद हामी कोही चाहदैनौं कि भोलि कुनै नेपालीको हत्या होस् चाहे त्यो कथित तल्लो जातको होस् या त माथिल्लो । मानिसले आफुलाई महान बनाउन जबसम्म यस्ता निच कार्य गर्न छोड्दैन तबसम्म यो अपराधको सिलसिला रोकिने वाला छैन । त्यसैले आत्मसमिक्षा गरौं, हामिले जातकै कारण कसैलाई घृणा वा अपहेलना गरेका त छैनौं ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha