नायिका सुहाना थापाले माफी मागिन्
नायिका सुहाना थापाले माफी मागेकी छन् । ‘ए मेरो हजुर’का पछिल्ला श्रृंखलामा लैंगिक अल्पसंख्यक ‘समलिंगी समुदाय’लाई मजाकको विषय बनाएको प्रति सुहानाले माफी मागेकी हुन् ।
ईन्ष्टाग्राम स्टोरी मार्फत लैंगिक अल्पसंख्यकलाई लामो चिठ्ठी लेख्दै उनले मजाकको विषय बनाउनु आफूहरुको उद्देश्य नरहेको उल्लेख गरेकी छिन् । फिल्महरु ‘ए मेरो हजुर २’ र ‘३’ मा समलिंगी पात्रलाई चित्रण गरिएको छ ।
आफूहरु पात्रको संवाद, भावनात्मक चित्रण र प्रतिनिधित्वको मामिलामा चुकेको भन्दै सुहानाले संरक्षण गर्नुपर्ने समुदायप्रति यसरी प्रस्तुत भएकोमा खेद समेत व्यक्त गरेकी छन् ।
शिव-पार्वतीको रुपलाई विश्वास मानेर आफूहरुले समलैंगिक चरित्रलाई चित्रण गरेको समेत उनले बताएकी छन् । आगामी फिल्ममा सही सन्देश प्रवाह गर्ने किसिमले काम गर्ने सुहानाको प्रतिबद्धता छ ।
सुहाना अभिनित फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शनरत छ । दोश्रो फिल्ममा पनि सुहानाको अभिनयको प्रशंसा भएको छ ।