‘नातिकाजी राष्ट्रिय पुरस्कार’बाट दर्जन कलाकर्मी सम्मानित
रंगपत्रकार कुबेर गिरी ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार-२०७८’बाट सम्मानित भएका छन् । राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा शुक्रबार आयोजित ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह-२०७८’मा राष्ट्रपति विद्यादेवी भण्डारीले गिरीलाई उक्त पुरस्कार प्रदान गरिन् । कार्यक्रममा पत्रकार डब्बु क्षेत्रीले पनि ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ प्राप्त गरेका थिए ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका स्रष्टा सर्जकहरुलाई सम्मान तथा पुरस्कार समेत प्रदान गरेकी थिइन् । सो अवसरमा मनबहादुर मुखिया, दीप तुलाधर, दीपा नारायण झा, प्रदीपराज पाण्डे, फणिन्द्र राई, विके राना, कन्हैया सिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान-२०७८’ प्रदान गरिएको थियो । यस्तै, एकनारायण भण्डारी, कालीप्रसाद बासकोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार-२०७८’ प्रदान गरियो ।
यसैगरी, देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार-२०७८’ प्रदान गरिएको कार्यक्रममा सङ्गीत गुरु चन्दनकुमार श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार-२०७८’, लोक गायिका देवी घर्तीलाई ‘नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ र रविन कार्कीढलीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार’ दिइयो ।
कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बाँस्कोटाले नेपाली सङ्गीतको मौलिक सिर्जनाका क्षेत्रमा नातिकाजीको अतुलनीय योगदानको रहेको चर्चा गरे ।