अनमोल केसी, ‘फिल्म खेल्ने र छोड्ने’ पर्याय स्टार !
‘छड्के २’ को सुटिङ सकाएका नायका अनमोल के.सीले ‘एक्स नाइन’ छोडेका छन् । उनले आफ्नो पारिश्रमिक वापत पाएको पेश्की रकम समेत निर्माण पक्षलाई फिर्ता गरेर फिल्म नखेल्ने निणर्य लिएका हुन् । अनमोलले छाडेपछि अर्का नायक प्रदीप खड्कालाई ‘एक्स नाइन’ खेल्ने अफर पुगेको फिल्म वृत्तमा चर्चा छ ।
उसो त युवा स्टार अनमोल के.सीले खेल्ने र छोड्ने फिल्मका संख्या उस्तै उस्तै छन् । आफ्नो दश वर्षे फिल्मी करिअरमा अनमोलका जम्मा आठ वटा फिल्महरु रिलिज भएका छन् । ‘होस्टेल’ डेव्यु अनमोल अभिनित पछिल्लो पटक ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आएको थियो । ‘प्रेम गीत’ देखि ‘ए मेरो हजुर २’ खेल्ने पहिलो अफर अनमोलसम्म पुगेको थियो । यी र यस्तै अन्य फिल्महरु अनमोलले खेलेनन् ।
फिल्म ‘हनी बनी’ पनि अनमोलले अन्तिम समयमा आएर छोडेका थिए । ‘पारस’ छोडेको खबर पुरानो भैसक्यो । नायिका पूजा शर्माले बनाउने अनटाइटल प्रोजेक्ट र ‘जेरी २’ अनमोल केसीका आगामी प्रोजेक्ट हुन् । कतै यी मध्ये कुनै फिल्म अनमोलले छोड्ने त होइनन् ! फिल्म नगरीमा यस्तै चर्चा छ । यस अर्थ अनमोललाई फिल्म खेल्ने र छोड्ने पर्याय स्टार भन्न सकिन्छ ।