लुनिभाको निर्देशनमा बन्यो वेब श्रृंखला ‘बिकमिङ’
अभिनेत्री लुनिभा तुलाधरले वेब श्रृंखला ‘बिकमिङ’ निर्देशन गरेकी छिन् । नीलहीरा समाज र सेभ द चिल्ड्रेनले निर्माण गरेको यो सिरिज सोमबार सार्वजनिक गरिएको हो । वेभ सिरिजमा लैंगिक अल्पसंख्यक समुदायका युवाको कथा र उनीहरुको सामाजिक स्वीकार्यतालाई प्रस्तुत गरिएको छ ।
सोमबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित समारोहमा एक एपिसोड शो गरेर त्यसमाथि फिल्म युनिटसँग अन्र्तक्रिया गरिएको थियो । सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भनिन्, ‘यो वेब शृंखलाले समाज तथा सञ्चारमाध्यममा वर्षौदेखि रहिआएको एलजीबीटीक्यूआई समुदायको संकीणर् चित्रणविरुद्ध उनीहरुलाई समाजका रोल मोडलको रुपमा अघि ल्याउँछ ।’ यो सिरिजमा ६० प्रतिशत कलाकार एलजीबीटीआई समुदायबाट रहेको निर्देशक तुलाधरले जानकारी दिइन् ।
वेभ सिरिजमा निर्देशक तुलाधरसहित अमृत दाहाल, अदिती शेर्पा, निर्भिक भट्टराई, युनिश गुरुङल गायतको अभिनय छ । वेभ सिरिजको स्क्रिप्ट आकांक्षा कार्कीले लेखेकी हुन् ।