अनमोल र जसिता ’फर्की फर्की’मा पक्का, कस्तो देखिएला जोडी ?
नायक अनमोल केसी र नायिका जसिता गुरुङ पहिलो पटक रंगीन पर्दामा एकसाथ अभिनय गर्ने भएका छन् । निर्माता रोहित अधिकारीले निर्माण गर्ने ’फर्की फर्की’मा अनमोल र जसिता अनुबन्धित भएका हुन् ।
निर्माता अधिकारीको फिल्ममा सुयोग गुरुङको लेखन तथा निर्देशन रहनेछ । उनले यस अगाडि ’सानो मन’ नामक फिल्म निर्देशन गरेका थिए भने रोहित अधिकारीले ’गाजलु’ र ’छ माया छपक्कै’ बनाइसकेका छन्। अधिकारी ’फर्की फर्की’सहित ३ फिल्म बनाउने घोषणा पनि गरेका छन्। उनले बाँकी दुई फिल्म मध्ये एक सुरेन्द्र पौडेल र अर्को सिनेमा दिनेश राउतको निर्देशनमा बनाउनेछन्।
राउतको निर्देशनमा बन्ने फिल्मको लेखन विकास सुवेदीले गर्दैछन् भने पौडेलको निर्देशनमा बन्ने फिल्मलाई खगेन्द्र लामिछानेले लेख्नेछन्। यस फिल्ममा लामिछानेको प्रमूख अभिनय रहनेछ भने अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले डेब्यू गर्नेछिन्।
यी फिल्मको निर्माणमा रोहित अधिकारी फिल्मस्, ओएसआर डिजिटल र हिमालय टिभीले सहकार्य गर्दैछन् । मनोज कुमार ओली र रामु न्यौपाने यी सिनेमाका सह निर्माता हुन् । सबै फिल्महरुको छायाँकन यसै बर्ष सक्ने निर्माता अधिकारीको भनाइ छ ।