‘बुलबुल’ मा स्वस्तिमा बन्दैछिन् टेम्पो चालक

ग्यामरस र चञ्चले युवतीको भूमिकामा पर्दामा देखिँदै आएकी स्वस्तिमा खड्का सोमबार घोषणा भएको नयाँ फिल्ममा भने ट्याम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छिन् । अवेकन आइजको प्रोडक्सनमा बन्न लागेकोे फिल्म ‘बुलबुल’मा स्वस्तिमा नन ग्ल्यामरस भूमिकामा देखिन लागेकी हुन् ।

टेम्पो चालकको बाहिरी भित्री दुवै यात्राको कथा रहने फिल्मलाई बिनौद पौडलेले निर्देशन गर्नेछन् । अस्कर कलेजका प्रिन्सिपलसमेत रहेका पौडेलले यसअघि ‘साँघुरो’को कथा पटकथा लेखेका थिए । घोषणा कार्यक्रममा बोल्दै निर्देशक पौडेलले फिल्मले एक खाले समाजको दैनिकीलाई दुरुस्त उतार्ने बताए ।

‘फिल्मको घोषणा कार्यक्रममा फिल्मका बारेमा बोल्नु अतिशयोक्ति जस्तो लाग्छ । फिल्मले नै बोलोस् भन्ने लाग्छ । हामीले फिल्ममार्फत समाजका एक वर्गको चित्र प्रस्तुत गर्ने जमर्को गरेका छौं, उनले थपे, ‘ फिल्म के कस्तो बन्छ त्यो आफ्नो ठाउँमा छ । तर हाम्रो प्रयासमा इमान्दारिता देख्न पाउनु हुनेछ । अरु केही नभए पनि यो फिल्मले एक्टरको जन्म गराउनेछ ।’

फिल्मकोे मुख्य भूमिकामा देखिन लागेकी स्वस्तिमाले टेम्पो चालकको भूमिकामा आफूलाई तयार गराउन प्रशिक्षण लिइरहेकी छिन् । उनले फिल्म आफ्ना लागि विशेष रहेको भन्दै फिल्म आफ्नो कारणले मात्र नभइ टिमकै कारण राम्रो हुने बताइन् ।

‘यो फिल्ममा मलाई हेर्न भनेर पनि कोही आउनु होला तर यो फिल्म स्टारको नभइ कलाकारको हो ,’ उनले भनिन्, ‘अनि निर्माताले मलाई स्टार भएर फिल्म चल्छ भनेर लिएको पनि होइन । स्टार नै लिन खोज्नु भएको भए बजारमा मभन्दा धेरै चलेका कलाकार हुनुहुन्छ ।’

निर्मातामध्येका एक अबिरल थापाले नेपाली फिल्मकोे दृश्य भाषा र प्रस्तुतिलाई लिएर उठाइँदै आएका प्रश्नहरू मध्ये फिल्मले ५१ प्रतिशत प्रश्नको उत्तर दिने बताए । ‘हामी नेपाली फिल्मका हरेक आरोहअवरोहबाट परिचित छौं । यसले खेप्दै आएका आलोचना पनि पढ्दै आएका छौं । यो फिल्म धेरै समीक्षकले उठाएका प्रश्न उत्तर हुने अपेक्षासहित बनाउने प्रयास रहनेछ ।

साउनको पहिलो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा कथा तथा पटकथा पनि बिनोद पौडेलकै रहेको छ । सुसन प्रजापतिको छायांकन रहने फिल्ममा स्वस्तिमासँगै जोयस पाण्डे, मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । कोेशिश क्षेत्री र उदगम परियारको सगीत रहेको फिल्ममा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha