‘मिडियाले पक्षधरता लिनु भएन’ :  रेखा थापा

(नेपाली फिल्म वृत्तमा ‘नायक’को छवि बनाएकी छन्, रेखा थापाले । मिडियासँग ‘लभ एन्ड हेट’को सम्बन्ध देखिन्छ उनको । फिल्म बाहेक सामाजिक कार्य र राजनीतिमा समेत सक्रिय रेखाले मिडियाप्रतिको आफ्नो भोगाइ र बुझाइ यसरी सुनाइन् ।)

मेरो करिअरको सुरुवातबाटै कलाकारिता र रंगपत्रकारितालाई निकटताको रुपमा हेरेको छु । हामीलाई रंगपत्रकारले दर्शकमाझ ‘एक्सप्लोर’ गरिदिनुभयो । रंगपत्रकारिता दु्रत गतिमा अघि बढेको छ । हिजोको भन्दा आज रंगिन, अझ बढी संयमित, समाज र दर्शकप्रतिको उत्तरदायित्व बहन गरिरहेको जस्तो लाग्छ । ‘जजमेन्ट’ गर्न सक्ने सक्रिय पत्रकारिता देखेर खुशी लाग्छ मलाई । यतिहुँदा–हुँदै पनि कहिलेकाहीं पत्रकार र फिल्मकर्मीबीच असमझदारी उत्पन्न भइरहेको हुन्छ । मेरै कति पटक भएको छ तर यो सामान्य नै हो जस्तो लाग्छ । हामी एक अर्काबिना अपुरो हुन्छौँ । एउटै फिल्डमा छौं । सोहीकारण कहिले मेरो मिडियासँग र कहिले मिडियाको मसँग लफडा हुने गर्छ । यसलाई अतिरञ्जित गर्नु आवश्यक छैन ।
ममाथि पत्रकारलाई प्रयोग गर्ने गरेको आरोप छ । तर नढाँटी भन्ने हो भने रेखा थापा मात्र होइन, अन्य कलाकारमा पनि यस्तो लोभ हुन्छ । र, कलाकारले मात्र होइन, पत्रकारले पनि हामीलाई प्रयोग गरिरहेका हुन्छन् । हामीसँग कन्टेन्टका लागि जोडिनु पनि पत्रकारको एक किसिमको स्वार्थ नै हो । तर दुवै पक्षको नियत चाहीं सफा हुनुपर्छ । मैले अहिलेसम्म कुनै पत्रकार पालेको छैन । मेरो रंग पत्रकारभन्दा पनि अन्य बिटका पत्रकार साथीहरू बढी छन् । साथी त जसलाई नि बनाउन पाइयो नि । पेसा अनुरुप दोस्ती गर्नुपर्छ भन्ने त पक्कै होइन ।

मिडियामा आएका समाचारले हामी सेलिब्रेटीको जीवनमा गम्भीर असर परेका उदाहरण धेरै छन् । तर मसँग यस्तो दुखद अनुभव छैन । मैले गल्ती गरेको छैन, त्यस्तो समाचार पनि आएको छैन । गसिपको रुपमा प्रायोजित समाचार झाक्कल–झुक्कल आएका छन् । त्यसलाई समाधान गरेकी छु । प्रमाण माग्ने गर्छु । मैले गर्दै नगरेको कुरा आयो भने झगडा पनि भएको छ । मलाई भेट्ज सहज छ । अरे, रे को भरमा गरिने आलोचना मलाई स्वीकार्य छैन । गाइजात्राका बेला एउटा गसिप सौर्य दैनिकले छापेको थियो, त्यति बेला त हात हालाहाल नै भयो । अर्को भनेको मलाई एकदमै मनपर्ने नेपाल म्यागेजिनमा गोकर्ण गौतम जीले लेख्नु भएको थियो, ‘रेखाको रौद्ररुप’ भनेर । त्यो आर्टिकलसँग म अझ सन्तुष्ट छैन । सत्य तथ्य नबुझी बाहिर सुनेकै भरमा लेख्दा स्वतन्त्र मूल्यांकन हुन सक्दैन । त्यो आर्टिकलमा झगडा परेको भनिएको कतिपय व्यक्ति त अहिले मेरै निकटका साथी भएका छन् । त्यसो त गोकर्णजी र म पनि अहिले साथी बनिसकेका छौं ।

पछिल्लो समय मिडियाले केहि कलाकारलाई चाहिनेभन्दा धेरै प्रसंसा, हाइप, उचाइ दिलाएको देख्छु । जसमा तथ्य हुन्न, खास आधार पनि हुन्न । त्यो जिम्मेवार पत्रकारिताको धर्म होइन । त्यस्तो देख्दा मलाई लाज लाग्छ । पन्ध्र वर्ष भयो,‘ब्याक टु ब्याक’ हिट फिल्म दिएको, त्यो पनि एक्लैको भरमा । हिरोइन पनि हिरो बन्न सक्छ भनेर देखाएँ । तर आज मलाई मेघास्टार, महानायिका भन्न डराउँछन् । तिनै पत्रकार १–२ हिट फिल्म दिएको भरमा नयाँलाई ‘मेघास्टार’ भन्न हिच्किच्याउदैनन् । यो त एकदमै गलत कुरा हो । यद्यपि दुई–चार बुझ्ने पत्रकारले त त्यस्तो लेखेका छैनन् ।

म मिडियाबाट प्रसंशाभन्दा आलोचना अपेक्षा राख्छु । तर तथ्यपरक हुनु प¥यो । गिराउने खालको होइन । सही आलोचनालाई जहिल्यै सकारात्मक रुपमा लिन्छु । जस्तो, ‘मैले ‘गोरेटो’ फिल्म खेल्दा मेरो रेखा फिल्मस् स्थापित भइसकेको थियो । त्यतिबेला डब्बु क्षेत्री दाइले लेख्नु भएको थियो, ‘रेखाको डान्स राम्रो छ, अनुहार राम्रो छ, सबै कुरा राम्रो तर किन आफ्नो व्यानरमा सहायक भूमिकामा खेल्छिन ? अभिनयमा कमजोर हुनुपर्छ या उनी आफैंमा कमजोरी हुनु पर्छ ।’ हो, त्यतिबेलासम्म म अभिनयमा एकदमै कमजोर थिएँ, मैले अभिनय राम्रो गर्दिनँ रहेछु भन्ने लागेपछि अभिनय सुधारें । त्यसपछि पछाडि फर्कनु परेन ।

अर्कातिर, कलाकारको ‘इमेज’निर्माण गर्न पत्रकारिताको सशक्त भूमिका हुन्छ । तर मिडियाले दुरुयोग गर्नु भएन । व्यक्ति चिनेर, बुझेर मात्र सम्प्रेषण गर्नु पर्छ । लोभिएर वा ईष्र्या राखेर हुन्न । हिम्मत पनि हुनुपर्छ । मिडिया हुन्थेन भने, रेखा थापा हुन्थेन । मलाई दर्शक सामु चिनाउन र यो सफलतामा पु¥याउन मिडियाको ठूलो हात छ । अरु कलाकारको हकमा पनि यस्तै होला । अहिलेको सन्दर्भमा हुल लागेर नराम्रो फिल्मलाई राम्रो भनिदिने र राम्रो फिल्मलाई वास्ता नगर्ने परिपाटीलाई कम गर्नु गर्छ । जस्तो, अशोक दर्जी जसरी कसैलाई पनि उचाल्नु हुँदैन । त्यसले भविष्यमा उक्त व्यक्तिप्रति के असर पार्छ भन्ने पनि सोच्नु पर्छ । समाचार तयार गर्दा वर्तमान नतिजा मात्र नहेरेर भविष्यसम्म पर्ने सक्ने असरतिर पनि दिमाग डो¥याउनु पर्छ । पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन गर्र्नुपर्छ ।

कतिपयले मिडियाले हामीलाई पर्याप्त स्थान दिएन भन्छन् तर मलाई त्यस्तो लाग्दैन । महत्व दिन स्वयं व्यक्ति र उसको स्थान महत्वपूर्ण हुनु पर्छ । हाम्रो कला क्षेत्रको जति विकास भैरहेको छ, त्यो अनुसार महत्व दिए जस्तो नै लाग्छ । मुलधारको पत्रपत्रिकामा अहिले मध्यपृष्ठमा आउँछौं । यदि हामीले समाज बदल्ने, उत्तरदायित्व बोक्न सक्यौं भने फ्रन्ट पेज मिल्न सक्छ । कुनै समय मैले लगाउने सर्ट स्कर्ट, छवि ओझासँगको प्रेम र वैवाहिक सम्वन्ध, त्यसपछिको डिभोर्सले मिडियामा खुब स्थान पाए । पब्लिक फिगर भएकाले मेरो जीवनका गतिबिधिमा पाठक÷दर्शकको चाख हुन्छ ।

मैले गरेका क्रियाकलापले चर्चा पाउँछ, सकारात्मक होस् वा नकारात्मक । ती सबैलाई सहज ढंगबाट लिएँ । किनकि ती सबै चिजको लागि तयार भएर नै कला क्षेत्रमा आएको थिएँ । तर ‘इरिटेट’ त्यहाँनेर हुन्छु, जब मलाई छवि ओझासँग अहिले पनि जोडिन्छ,जबकि डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई वर्ष भइसक्यो । यहाँनेर चाहीं विभेद गरे जस्तो लाग्छ, किनकि जसले विवाह गरिसकेको उसलाई उसको विवाहिक जीवनको बारेमा सोध्दा हुन्छ नि, तर पटक–पटक ममाथि नै किन प्रहार गर्छ मिडियाले ? साभार : रमाइलो छ स्मारिका ०७५ 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha