‘फिल्म समीक्षा पनि ‘फिल्म कल्चर’को अभिन्न अंग हो’

नेपालमा फिल्म समीक्षालाई हार्दिकताका साथ स्वागत गर्ने फिल्मकर्मीको संख्या निकै कम छ । फिल्म समीक्षालाई उनीहरु अझै पनि ‘पूर्वाग्रही गाली’ ठानिदिन्छन् । सकेसम्म आफ्नो फिल्मको समीक्षा नलेखिदियोस् भन्ने उनीहरु चाहन्छन् । समीक्षालाई स्विकार्न नसक्ने यही मानसिकताबाट नै पुष्टि हुन्छ, हामीकहाँ ‘फिल्म कल्चर’ पर्याप्त मात्रामा हुर्किसकेको छैन ।

हलमा नयाँ फिल्म लाग्नेबित्तिकै हुलका हुल दर्शक ओइरिनुमात्र ‘फिल्म कल्चर’ होइन । फिल्मलाई हेर्ने, त्यसका कमीकमजोरी केलाउने, आफ्ना कमजोरी कसैले औंल्याइदिएको छ भने ऊप्रति आभारी हुने, समीक्षकहरुलाई फिल्म देखाउने र समीक्षा गर्न प्रोत्साहित गर्नेजस्ता संस्कार पनि ‘फिल्म कल्चर’को अभिन्न अंग हो ।

तर विडम्बना, यो संस्कारको विकास नेपाली फिल्मकर्मीमा हुन बाँकी नै छ । जबसम्म आफूमा यो संस्कार विकास गर्दैन तबसम्म ‘दर्शकले फिल्म हेरिदिएनन् वा नेपालमा ‘फिल्म कल्चर’ नै छैन’ भन्दै आरोप लगाउने अधिकार कुनै पनि फिल्मकर्मीलाई छैन । पहिले आफ्नो ‘फिल्म कल्चर’ बढाउनुपर्छ अनि मात्र अरुबाट आशा गर्नुपर्छ ।

कतिपय फिल्मकर्मीचाहिँ ‘समीक्षा आवश्यक छ, यसलाई स्विकार्छु’ भन्दै आफूलाई अरु भन्दा उदार प्रस्तुत गर्न खोज्छन् । तर, व्यक्तिगत भेटघाटमा उनीहरु फिल्म रिलिज भएको चारपाँच दिनपछिमात्र समीक्षा लेखिदिए हुन्थ्यो भन्ने अपेक्षा राख्छन् । उनीहरु तर्क दिन्छन्, त्यसो गर्दा फिल्मको ‘इनिसियल कलेक्सन’मा धक्का पर्दैन ।

झट्ट विचार गर्दा यो तर्क ठिकै लाग्छ, ढिला समीक्षा गरिदिए ‘इनिसियल कलेक्सन’ प्रभावित हुँदैन । निर्माताले पैसा कमाएमा उद्योग बलियो हुने हो । त्यसैले यो तर्क जायज हो भन्दै कुनैकुनै समीक्षकले समीक्षा पनि ढिलै लेखिदिन बेर लाउँदैनन् ।

यदि कुनै समीक्षकले माथिको तर्कमा सहमति राख्छ भने, त्यो ‘इथिकल्ली’ बिल्कुलै गलत हो । समीक्षकले फिल्मकर्मीसँगको सम्बन्ध वा उसको अनुहार हेर्ने नै होइन । उसले पाठकका लागि कलम चलाउने हो । ऊ पाठकप्रति जवाफदेही हुनुपर्छ, न कि फिल्मकर्मीप्रति ।

कसैकसैले फिल्मकर्मीको गलत तर्क वा प्रभावमा परी समीक्षा गरेका पनि छन् । उनीहरुले नस्विकारे पनि उनीहरुका समीक्षाले यो कुरा स्विकार्छ । समीक्षकले इमान्दारीका साथ समीक्षा नगर्नु पनि ‘फिल्म कल्चर’ विरोधी क्रियाकलाप हो । ‘इथिक्स’ पालन नगरी जुन समीक्षकले कलम चलाउँछ, उसलाई पनि नेपालमा ‘फिल्म कल्चर’ कमजोर छ भनेर लेख्ने छुट छैन । किनभने ‘फिल्म कल्चर’ कमजोर हुनुमा उसको ‘भ्रष्ट कलम’ पनि दोषी छ ।

कसैले समीक्षा लेखिहाल्दैमा उसले समीक्षकको दर्जा पाउँछ त ? बिल्कुलै पाउँदैन । नियमित समीक्षा लेख्ने र पाठकको विश्वास जित्नेले मात्र असल समीक्षकको दर्जा पाउँछ । जसले फिल्मको कलात्मक पक्षलाई बुझेर लेख्छ र जसको लेखाइ इमानदार छ, उसलाई मात्र पाठकले विश्वास गर्छ ।

र, यो विश्वास कमाउन सजिलो छैन । समीक्षकले एकपटकमात्र इमानदारी कायम राख्न सकेन भने ऊ पाठकको नजरबाट गिरिहाल्छ । उसले आफ्नो छविलाई पहिलेकै स्थितिमा फर्काउन सजिलो हुनेछैन । किनभने एकपटक ठगिएको महसुस गरेपछि पाठकले उसका हरेक लेखाइमा शंका गर्न थाल्छ ।

यही कारणले पनि भनिएको हो, समीक्षक आफ्ना पाठकप्रति जवाफदेही हुनुपर्छ । पाठक सधैं आफ्नो प्रिय समीक्षकको समीक्षालाई प्रतीक्षा गरिरहेको हुन्छ । त्यही समीक्षाका आधारमा फिल्म हेर्ने कि नहेर्ने भन्ने निर्णयमा ऊ पुग्छ ।

बजारमा आउने हरेक उपभोग्य वस्तुको गुणस्तर सम्बन्धित निकायले जाँचेको हुन्छ । कुन वस्तुमा कुन तत्वको उपस्थिति कति छ, त्यो लेखिन्छ पनि । उपभोक्ताले त्यही विवरण अध्ययन गरेर उक्त वस्तु उपभोग गर्ने वा नगर्ने, निर्णय लिन्छ ।
फिल्म कलाको एउटा माध्यम हो । तर यो उपभोग्य वस्तु पनि हो । त्यसैले यसमा कलात्मकताको स्तर कस्तो छ भन्ने कुरा पाठकले जान्न पाउनुपर्छ । शुक्रबार रिलिज हुन्छ भने शुक्रबार नै यसबारे जानकार हुन पाउनु पाठकको ‘कन्ज्युमर राइट्स’ हो ।

र, यो ‘कन्ज्युमर राइट्स’लाई सम्मान गर्नु समीक्षकको कर्तव्य हो । समीक्षकले फिल्मको गुणस्तर जाँचेर त्यसलाई साधारण पाठकले बुझ्ने भाषामा व्याख्या गरिदिनुपर्छ । पाठकले समीक्षकबाट यही अपेक्षा गरेको हुन्छ ।
धेरैजसोले फिल्म हेर्ने भनेको पहिलो सप्ताहन्त नै हो । त्यसैले सकेसम्म छिटो समीक्षा लेखिदिनुपर्छ । ताकि, फिल्म हेर्ने भए पनि अपेक्षा कतिको राख्ने भन्ने कुरामा पाठकलाई सजिलो होस् ।

किनभने, समीक्षकले फिल्म राम्रो छैन भन्दिने बित्तिकै सबै पाठकले त्यो फिल्म हेर्दैन भन्ने हुँदैन । कलाकारको ‘फ्यान फलोइङ’, फिल्मको मार्केटिङ र फिल्मको कुनै सराहनीय पक्षका कारण पनि पाठकले फिल्म हेरिदिन्छ । तर, फिल्मप्रतिको अपेक्षा चाहिँ उसले समीक्षा पढेर निर्धारण गरिसकेको हुन्छ ।

नेपालमा मात्र हो, ढिलो समीक्षा गरिदिनू भनेर समीक्षकलाई आग्रह गरिने । विदेशमा त फिल्म रिलिज हुनुभन्दा केही दिनअघि नै समीक्षकलाई फिल्म देखाइन्छ । र, समीक्षा लेख्न प्रोत्साहित गरिन्छ ।

समीक्षकले आफ्नो धारणा स्वतन्त्र रुपमा र आफूले चाहेको समयमा राख्न पाउनुपर्छ भन्ने सिद्धान्त अरुतिरका फिल्मकर्मीले बुझेका छन् । फिल्ममाथि बहस सिर्जना भएमा मात्र त्यसले फिल्मको कलात्मक विकासका लागि फाइदा पुग्छ भन्नेमा उनीहरुको दुईमत छैन । त्यसैले उनीहरु समीक्षकलाई प्रभावित वा प्रलोभित पार्ने काममा लाग्दैनन् । र, यो परिपक्व ‘फिल्म कल्चर’को प्रमाण हो ।

फिल्मका विभिन्न जनरा हुन्छन्, विभिन्न शैली हुन्छन् र संसारमा कस्ताकस्ता फिल्म बनिरहेका छन्, तिनको वर्णन गर्दै त्यस्ता फिल्मसमेत हेर्न समीक्षकले पाठकलाई उत्प्रेरित गरिरहेका हुन्छन् । यसले पाठकको ‘फिल्म लिट्रेसी’ बढाउन महत्वपूर्ण भूमिका खेल्छ र पाठकलाई ‘फिल्म कल्चर’मा हुर्काउँदै लैजान्छ । यसो हुनु भनेको भविष्यमा राम्रा फिल्म बनाउने फिल्मकर्मीका लागि बजार सुनिश्चित बनाइदिनु हो ।

फिल्मको समीक्षा स्वयं फिल्मकर्मीलाई पनि फाइदाजनक छ । कुनै इमानदार समीक्षकले औंल्याइदिएका कमीकमजोरीलाई आत्मसात गर्दै तिनलाई सुधार्नतिर लागेमा उसको फिल्म करियर पक्कै उकालो लाग्नेछ । जो, समीक्षकलाई झुठो तारिफ लेख्न लगाउँछ र त्यसमै मख्ख परिरहन्छ, ऊ डाइनोसरझैं ढिलोचाँडो लोप हुनेछ ।

त्यसैले समीक्षा लेख्नु, पढ्नु र आत्मसात गर्नु पनि ‘फिल्म कल्चर’कै एउटा अंग हो भनेर सबैले स्विकारौं । समीक्षकलाई फिल्मकर्मी र फिल्म उद्योगको शत्रु ठान्ने संकीर्ण सोच त्यागौं । बरु समीक्षकको लेखन कमजोर लाग्छ भने उनीहरुलाई थप योग्य बनाउनेतर्फ लागौं ।

(लामा फिल्म निर्देशक तथा चलचित्र समीक्षक समाजका उपाध्यक्ष हुन्)
साभार : रमाइलो छ स्मारिका ०७५

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha