प्रश्न हराएको रंग पत्रकारिता : सामीप्यराज तिमल्सेना

हाभारतमा आफ्ना सय भाइ छोरा गुमाएपछि गान्धारी र धृतराष्ट्र शोकमा पनि आफ्ना छोरा गुमाउनुका कारणबारे चिन्तन गर्छन् । गान्धारीलाई लाग्छ, पाण्डवका कारणले आफ्ना छोरा गुमाउनु परेको हो । यही कारण उनी पाण्डवलाई मार्न चाहन्छिन् । खास गरी भिमसेनसँग गान्धारी क्रोधित छिन् । युद्ध जितेपछि जब पाण्डव धृतराष्ट्र र गान्धारीलाई भेट्न जान्छन्, अन्धी गान्धारी भिमसेनलाई कहाँ छौ भनेर सोध्छिन् । गान्धारीको मनसाय थाहा पाएका कृष्णले चलाख्याँई गर्दै भिमसेनको साटो फलाम गान्धारीको हातमा थमाइदिन्छन् । रिसले चूर भएकी गान्धारीले फलाम धुलो पार्न बेर पनि लाउँदिनन् । गान्धारीको पतिब्रता धर्मले जम्मा गरेको शक्ति यति धेरै थियो कि यसले भिमसेनलाई पनि धुलो बनाउन बेर लाग्दैनथ्यो । गान्धारीको मनसायको पटाक्षेप भएपछि पनि गान्धारीको रिस मरेको छैन । यस्तो बेलामा धृतराष्ट्र गान्धारीलाई सम्झाउँदै भन्छन्, ‘गान्धारी, छोरा मारिनुमा दोष पाण्डवको हैन, हाम्रो हो । यदि हामीले दुर्योधनको मनोमानीलाई बेलैमा रोकेको भए, न यो महाभारतको युद्ध हुन्थ्यो न पाण्डवको हातबाट हाम्रा छोराहरुको मृत्यु हुन्थ्यो ।’
महाभारतको यो कथा हाम्रो रंग पत्रकारितामा पनि लागू हुन्छ । हामीले पनि हामीभित्र रहेका केही बिसंगतिलाई बेलैमा पहिचान गर्ने कोशिस गरेको भए,रंग पत्रकारिता यति धेरै कमजोर विधा हुन्थेन । न त बाँकी विधाका पत्रकारले यसलाई जाबो रंग पत्रकारको पगरी गुथाउँथे । अब पनि यसका कमजोरीको पहिचान र निदान नखोज्ने हो भने हाम्रो पत्रकारिता पनि त्यसरी नै पतन हुन्छ जसरी कौरवको भएको थियो । सतहमा हेर्दा नेपालको रंगपत्रकारिता त्यो अवस्थामा पुगिसकेको छैन, तर पुग्दैन भन्ने कुनै आधार छैन । रुख हुर्कन वर्षौं लाग्छ , तर यसरी वयस्क भएको रुख धार भएको आराले काट्न कत्ति समय पनि लाग्दैन ।

पत्रकारिताको सबैभन्दा ठूलो गुण हो, प्रश्न गर्ने । समाचार प्रश्नबाट सुरु हुन्छ र यसको उत्तरसँगै पाठकसम्म पुग्छ । तर नेपालको रंग पत्रिकारिताले न विगतमा प्रश्न गर्यो न वर्तमानमा गरिरहेको छ । अझ अनलाइन र युट्युबको बाढी पछि त रंगपत्रकारिता कलाकारको बिन भएको छ । सपेराले बिन बजाएर सर्प नचाए झैं कलाकारले पनि यस्ता पत्रकारलाई नचाउँछन् र आफ्नो स्वार्थसिद्ध गर्छन् ।

तर रंगपत्रकारितामा यो प्रवृत्ति नयाँ होइन । अघिल्लो पुस्तादेखि नै यो प्रवृत्ति चलिआएको छ जुन पछिल्लो समय परिवर्तित माध्यममा देखा परेको छ ।

नेपाली फिल्म उद्योगको विकाससँगै अस्तित्वमा आएको रंगपत्रकारिता अहिले तेस्रो पुस्ताको हातमा छ । पहिलो पुस्ताका केही रंग पत्रकार पत्रकारितामा त छन् तर रंग पत्रकारितामा छैनन् । केही यो क्षेत्र छाडेर पलायन भइसकेका छन् । दोस्रो पुस्ताका रंग पत्रकार अल्लि धेरै यो क्षेत्रमा छन् तर उनीहरुको उपस्थिति नंग्रा निकालेको बाघ झैं छ । पत्रकारिताको आवरण त छ तर पन्जा मारेर सिकार गर्ने ह्याउ छैन । त्यसैले यो पुस्ताका फिल्मकर्मीको एउटै ध्याउन्न छ, फिल्मकर्मीलाई नबिझाउने । अनि पालो आउँछ, अहिले अस्तित्वमा रहेको तेस्रो पुस्ताको । यही पुस्ता हो जसका कारण रंग पत्रकारिता फेरि एक पटक प्रश्नको घेरामा छ । अनलाइन र युट्युबमा ठूलो हिस्सा ओगट्ने यो पुस्ता सिक्नु पर्ने समयमा आफैं मालिक बनेर अगाडि आएको छ । उनीहरु पनि सिकार गर्ने महत्वकांक्षाले नै यो क्षेत्रमा छन् तर यथार्थमा उनीहरु आफैं सिकार बन्ने गरेका छन् । औसत फिल्मकर्मी र हिरो हिरोइनको महत्वकांक्षाको सिकार । कसरी बनिरहेका छन् ? यो बताउन दिनहुँ आउने समाचारको हेडलाइन मात्र पढ्दा पनि थाहा हुन्छ ।

रंगपत्रकारिता तीनै पुस्ताको साझा समस्या हो, प्रश्न गर्ने विवेक गुमाउनु । सहीलाई सही र गलतलाई गलत भन्ने हिम्मत जुटाउन नसक्नु । यदि पहिलो र दोस्रो पुस्ताका पत्रकारले राजेश हमाललाई जथाभावी फिल्म खेलेकोमा प्रश्न गरेको भए, हमाललाई आज महानायक ताज भारी लाग्ने थिएन । हिन्दी फिल्म हुबहु उडाउने वरिष्ठ भनिने प्रकाश थापा, शम्भु प्रधान आदिको पोल खोलेको भए, मौलिक फिल्म गन्न एक हातका औंला नै पर्यात हुन्थेनन् । तर अघिल्लो पुस्ताले फिल्मकर्मीको कमजोरी लुकाउनमा नै आफ्नो सामथ्र्य देख्यो । अनि यो पुस्ताको यो रोग यति गहिरो छ कि कसैले त्यस्ता फिल्मकर्मीको गल्ती औंल्याउन खोज्यो भने त्यो फिल्मकर्मी त्यति प्रतिकार गर्दैन जति पत्रकार गर्छन् ।

शम्भु प्रधानको फिल्मको गीत निर्माता सुवास गिरीले बिना अनुमति आफ्नो फिल्ममा प्रयोग गरे । प्रधानले गिरीलाई जेलसम्म पुर्याए । फिल्मकर्मी गिरीको पक्षमा सामाजिक सञ्जालमा उर्लिए । यो स्वाभाविक पनि थियो । बलेको आगो ताप्ने समयमा उद्योगमा निभिसकेका शम्भु प्रधानमाथि कसैको पनि सहानुभूति थिएन । उनी आफ्नो जायज हकका लागि लडिरहेका तर धेरै फिल्मकर्मीको कठघरामा चोरीविरुद्ध लड्ने प्रधान स्वयं चोर थिए । अनि प्रधानविरुद्ध फिल्मकर्मीको भन्दा कम चर्को स्वर थिएन फिल्म पत्रकारको । यो देखेपछि एक वरिष्ठ पत्रकारले आजित भएर मलाई भनेका थिए, अरुको कुरा त आफ्नो ठाउँमा छ जसले पत्रकारिता र चाकरीकारिता भेद बुझेको छ, उनीहरु पनि किन चुप लागेर बसेको ? तिनीहरुले लेख्न पर्दैन ? फिल्म पत्रकारितामा ठिकैको चासो राख्ने ती वरिष्ठ पत्रकारको टिप्पणी गज्जबको थियो । हामीले शम्भु प्रधान सहि छन् भनेर लेख्न सकेनौं किनकि हामी गिरीको नजरमा दुश्मन बन्न चाहान्नथ्यौं । त्योभन्दा बढी आफ्नै साथीहरुको तिरस्कारमा पर्ने मनोविज्ञानले हामी तैंचुप मैचुप थियौं । तर यो मुद्धा व्यक्तिको थिएन, सिर्जनाको थियो । यो क्रम हिजो पनि थियो आज झन् बढी छ । आज पनि कसैले फिल्म वा फिल्मकर्मीको बारेमा समीक्षा वा आलोचनात्मक समाचार लेख्यो भने फिल्मकर्मी कम पत्रकारको टाउको बढी दुख्छ । यति मात्र होइन पत्रकार नै यस्ता अवार्डको आयोजनामा संलग्न छन् जुन किनबेच हुने गरेको आरोप खेपिरहेका छन् । हामी ५० वर्षमा पनि नेपाली फिल्म सुध्रिएन भन्छौं, तर हामीले सहीलाई सही र गलतलाई गलत भन्न सकेनौं भने अबको सय वर्षपछि पनि गर्व गर्न लायक सिनेमाको नाम भन्न हातका औंला नै काफी हुन्छन् ।

धेरै पत्रकारमा हामीले सकारात्मक कुरा लेख्यो भने मात्र उद्योगको भलो हुन्छ भन्ने भ्रम छ । फिल्मको समीक्षा नगर्नु, कलाकारका गलत प्रवृत्तिमा पनि आँखा चिम्लनु र संघ संस्थाको मनोमानीमा तटस्थ बस्नुमा नै उद्योगको भलो चिताएको रुपमा बुझेका छौं । यसले उद्योगको भलो गर्दैन भन्नलाई यही ५०—५५ वर्षको समय नै काफी छ । गुणगान गाएर मात्र उद्योगको भलो हुन्थ्यो भने नेपालमा रिलिज हुने सबै फिल्म हिट हुन्थे । किनकि उद्योगमा समीक्षा गरेर फिल्मका गुणदोष केलाइदिने एकाध छन् तर नगरेर भलो हुन्छ भन्ने जमात त्योभन्दा धेरै ठूलो छ । तर खै त ती फिल्मले पैसा कमाएको । त्यसो हो भने एक दुई जना समीक्षकले गरेको समीक्षामा फिल्मकर्मीको राँडो रुवाई किन ? यही प्रश्न सकारात्मक पत्रकारिताले मात्र भलो हुन्छ भन्ने पत्रकारसाथीलाई पनि । प्रश्न गर्ने गुण नै बिर्सिएर हामी कस्तो पत्रकारिता गरिरहेका छौं ?
(चलचित्र समीक्षक समाजका महासचिव तिमल्सेना, नागरिक दैनिकसँग आबद्ध छन्)

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha