स्वस्तिमाको फेरिएको दैनिकी (फोटो फिचर)

नायिका स्वस्तिमा खड्काको केही सातादेखि नयाँ दैनिकी सुरु भएको छ । स्वस्तिमा हरेक बिहान ८ बजे न्यु प्लाजाको टेम्पु ग्यारेजमा पुग्ने गर्दछिन् । अनि उनी न्यु प्लाजादेखि स्वयम्भूको भगवान पाउसम्म टेम्पोमा चक्कर लगाउँछिन्, चढेर होइन टेम्पो चलाएर ।

‘केही दिनमै चलाउन सिकें’, चक्कर लाएर ग्यारेज पुगेकी स्वस्तिमाले सुनाइन्, ‘केही दिनदेखि त मान्छे पनि बोक्न थालेको छु ।’ चालक उर्मिला कार्कीले स्वस्तिमालाई विगत तीन महिनादेखि टेम्पु चलाउन सिकाइरहेकी छिन् । ‘खाल्डा खुल्डी र जाममा मात्रै मैंले चलाउँछु । अरु ठाउँमा त बैनीले चलाउनु हुन्छ’, उर्मिला दिदीले सुनाइन् ।’

स्वस्तिमाको फेरिएको यो दैनिकी फिल्म ‘बुलबुल’का लागि हो । जुन फिल्ममा स्वस्तिमाले रणकला नाम गरेकी महिला टेम्पो चालकको भूमिका निभाउँदैछिन् । विनोद पौडेलको निर्देशन रहने फिल्ममा स्वस्तिमासँगै लक्ष्मी वर्देवा, उज्जवल अधिकारी र मुकुन भूषालले अभिनय गर्दैछन् ।

स्वस्तिमाले चलाउने टेम्पोमा हरेक दिन फिल्मका सबैजसो पात्रहरु चढ्छन् । ‘आजचाहिं लक्ष्मी मिटिङले गर्दा आउन पाइन्’, निर्देशक पौडेलले सुनाए, ‘होइन भने त सधैं सबै सँगै हुन्छौं ।’ न्यु प्लाजा, सुन्धारा, त्रिपुरेश्वर, टेकु, कालिमाटी, छाउनी र भगवान पाउ रुटमा चल्ने टेम्पोमा रमाइलो पनि उत्तिकै हुने गर्दछन् ।

उज्जवल टेम्पोमै गीत गाउँछन् । जाममा एक अर्कामा गफ गर्छन् । ‘कतिले चाहिं फर्कि फर्कि हेर्नुहुन्छ’, स्वस्तिमा सुनाउँछिन्, ‘मिल्यो भने फोटो पनि खिच्नुहुन्छ । यस्तो देख्दा खुसी लाग्छ । मेरो लागि यो नयाँ जीवन हो ।’ ग्यारेज आएपछि एकआपसमा बाँडीचुँडी हल्का खाजा खान्छन् ।

करिब दश बजेतिर ‘बुलबुल’ टिम ग्यारेजबाट सुकेधाराको ओस्कार कलेज जान्छ । वार्मअपछि खाना खान्छ अनि वर्कसप सुरु हुन्छ । ‘वर्कसप साँझसम्म  नै हुन्छ, ओस्कारमै पढेका उज्जवल भन्छन्, ‘सबै टिम मिलेर मिहेनत गरिरहेका छौं । राम्रो हुन्छ भन्ने आशा छ ।’

निर्देशक पौडेल यही साउनको तेश्रो सातदेखि फिल्मको छायाँकन सुरु गर्ने योजनामा छन् । ‘बुलबुल’ बाट नेपाली फिल्म क्षेत्रमा पोख्त कलाकार उत्पादन हुने उनी दाबी गर्छन् । तस्बिर : उद्धव रसाईली 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha