कलमको टुप्पोमा अडेको सम्बन्ध : अनिल यादव

तीन महिनाअघि एउटा फिल्ममाथि मैले आलोचनात्मक समीक्षा लेख्दा त्यस फिल्मका निर्माता तथा कलाकारले निकै आक्रोशपुर्ण म्यासेज पठाए– ‘हातमा कलम छ, तर बुद्धिविहिन कलम ।’

मैले कुनै जवाफ फर्र्काइन, मात्रै ‘धन्यवाद’ भनेर रिप्लाई दिएँ । उताबाट फेरि जवाफ आयो– ‘केही छैन, वेलकम ! ’ त्यसपछि मैले रिप्लाई गर्न आवश्यक ठानिनँ ।

उक्त फिल्म समीक्षा म कार्यरत पत्रिका शुक्रबार साप्ताहिकमा प्रकाशित भएको थियो । नागरिकन्यूजको अनलाइन संस्करणमा पनि प्रकाशन भएपछि समीक्षा धेरै पढिने लेखमा सामेल भएको थियो ।

निर्माताले ‘बुद्धिविहिन’ भनेर म्यासेज पठाएको आधा घण्टापछि फेसबुक म्यासेन्जरमा एकजना रंगकर्मी महिलाको म्यासेज आयो– ‘हाई ।’ कहिल्यै नबोल्ने उनी अचानक म्यासेन्जरमा ‘हाई’ भनिरहेकी थिइन् ।

मैले रिप्लाई दिन नपाउँदै उनले म्यासेज लेखिरहिन्, ‘यु रोट भेरी क्रिटिकल्ली । म सहमत छु । किप इट अप । अब उनीहरु जाइलाग्लान् ! तर, डन्ट फिल डाउन है ! सत्यको शक्ति हुन्छ ।’

त्यो दिन फिल्म समीक्षालाई लिएर धेरैका धेरैथरी प्रतिक्रिया आए होलान् तर माथिका दुवै मैले सम्झिरहने म्यासेज हुन् । एउटा त्यो म्यासेज– जसले समीक्षा लेखेकै भरमा मेरो बौद्धिकतामाथि प्रश्न गरिरहेको थियो । अर्को– जसले मलाई राम्रो काम गरिस् भन्दै फुर्काइरहेको थियो ।

तर, न मलाई निर्माताको त्यो स्तरको गालीले दुखाइरहेको थियो, न प्रशंसा गर्ने पाठकको तारिफ र हौसलाले फुर्काइरहेको थियो । किनभने कारण स्पष्ट थियो– न त्यो समीक्षा मैले कसैप्रति रिसराग राखेर लेखेको थिएँ, न कसैलाई खुशी बनाउन नै ।

सत्य एउटै थियो– फिल्म हेरेपछि मलाई जे लागेको थियो, त्यही लेखेको थिएँ, इमान्दारिताका साथ ।

रोचक त के भने त्यो समीक्षा लेख्नु अघिल्लो दिनसम्म फिल्मका निर्माता र निर्देशकसँग मेरो सम्बन्ध हार्दिक थियो । तर एउटै समीक्षाले सम्बन्ध खल्बलाइदियो ।

०००

अष्ट्रियन मुलका अमेरिकी पत्रकार हेनरी ग्रनवल्डले भनेका थिए, ‘पत्रकारिता कहिल्यै मौन रहन सक्दैन । यही उसको सबैभन्दा ठूलो गुण हो र सबैभन्दा ठूलो दोष पनि ।’

हेनरीले यो त्यतिबेला कुन सन्दर्भमा भनेका थिए त्यो उनै जानुन् तर मेरो अनुभवमा अधिकांश नेपाली फिल्मकर्मी आफ्नो फिल्मबारे पत्रकार सधैँ मौन रहिदिओस् भन्ने नै चाहन्छन् । कहिलेकाहीँ त यस्तो लाग्छ, उनीहरु आलोचना पढ्न र सुन्न फिटिक्कै रुचाउँदैनन् । उनीहरुले खुब रुचाउने एउटै कुरा हो– तारिफ, ‘फूलबुट्टा’ भरिएको तारिफ ।

पत्रकारिता थालेको १० वर्ष बढी भएपनि मैले फिल्म पत्रकारिता गरेको त्यति धेरै भएको छैन । पुगनपुग ४ वर्षजति भयो । ‘फिल्म दृष्टि’ लेख्न थालेको त अझ ६ महिना बढी पनि भएको छैन । फिल्ममात्रै होइन, मनोरञ्जन क्षेत्रका विविध गतिविधी र खराब प्रवृत्तिप्रति पनि किबोर्ड दबाउने गरेको छु ।

यसो गर्दा मेरा सम्पादक सधैँ खुशी हुन्छन् तर सम्बन्धित फिल्मकर्मी सधैँ दुःखी । फिल्मकर्मीमात्रै होइन सम्बन्धित फिल्मको प्रचार ठेक्का लिने ‘फिल्म पत्रकार’ पनि दुःखी हुन्छन् । अनि कार्यक्रमतिर भेटघाट हुँदा सार्वजनिक रुपमै गुनासो पोख्छन्, ‘यसको त माइन्ड नै नेगेटिभ, सधैँ नेगेटिभ लेख्छ ।’

म कुनै जवाफ फर्काउन्न, बस् मीठो मुस्कान फर्काउने प्रयत्न गर्छु । किनभने मलाई थाहा हुन्छ– उसले निर्माताबाट फिल्मबारे राम्रो र प्रचारात्मक खबर लेखाइदिने ठेक्का लिएको हुन्छ । त्यसो भएपछि त्यति गुनासो त उसले अवश्य राख्न पाउँछ ।

०००
आफू र आफ्नो सिर्जनाबारे कसले पो आलोचना रुचाउँछ र ? त्यसैले म फिल्मकर्मी किन समीक्षा रुचाउँदैनन्, त्यसको जवाफ केलाउन चाहन्नँ । फिल्म क्षेत्रका अस्वस्थ गतिविधि र प्रवृत्तिप्रति फिल्म पत्रकारलाई कलम चलाउन यहाँ कत्ति सहज छ ? फिल्म समीक्षा लेख्दा के–कस्ता कुरा सुन्न र भोग्नपर्छ ?

हो, मैले यहाँ यस्तैयस्तै विषयमाथि आफ्नै अनुभवसँग अन्तरक्रिया गर्न खोजिरहेको मात्रै हो । विज्ञ भएर कसैलाई सुझाव दिन खोजेको होइन, आफूले गरेका कामबारे चर्चा गरेको पनि होइन । बस्, यस स्मारिकाका सम्पादकको आग्रह बमोजिम आफ्ना अनभुव सुनाउने प्रयत्न गरेको मात्र हो ।

दाइ विनोदविक्रम केसी (पत्रकार÷कपी इडिटर÷कवि) मलाई सधैँ भन्नुहुन्छ, ‘पत्रकारसँग आलोचनात्मक दृष्टिकोण हुनुपर्छ ।’ सायद ममा उहाँको सुझावको गहिरो प्रभाव परेर होला आफ्नो काममा सधैँ त्यसलाई आत्मसाथ गर्न खोज्छु ।

मलाई लाग्छ कोही पनि असल पत्रकार (म खराबको कुरा गरिरहेको छैन)ले फिल्म समीक्षा या फिल्म सम्बन्धी स्टोरी लेखिरहँदा फिल्मकर्मीप्रति पूर्वाग्रह राखेको हुँदैन । यसको फिल्मलाई खत्तम गर्छु भन्ने दुराग्रह राखेर लेखेको हुँदैन । तर फिल्मकर्मीलाई लाग्छ, यसले मेरो फिल्म सिध्याउन समीक्षा लेख्यो । यस्तो कदापि हुन्न । समीक्षा लेखिरहँदा हाम्रो ध्यान, फिल्मकर्मीमा हैन, पाठकमा हुन्छ । जे लेखिन्छ हाम्रो पत्रिका पढ्ने पाठकलाई फिल्मबारे धारणा बनाउने उद्देश्यले लेखिन्छ । फिल्मकर्मी र धेरै पत्रकारले पनि यो तथ्य नबुझ्दा फिल्म समीक्षा पहाड भएको हो । जुन हुनुपर्ने कुरा होइन ।

भनिन्छ, कसैलाई असफल बनाउनु छ भने केही गर्नुपर्दैन, बस् उसका हरेक कामको प्रशंसा गरिदिए पुग्छ । तर असल फिल्म पत्रकार यो रुचाउँदैन । ऊ सधैँ फिल्मकर्मीको भविष्य सुन्दर देख्न चाहन्छ । र, उसका कमिकमजोरीलाई निर्भिकता र निष्पक्षताका साथ औँल्याउँछ । तर, विडम्बना यही फिल्मकर्मीका लागि अभिशाप भइदिन्छ । कारण– उनीहरु सधैँ प्रशंसकहरुको भिडमै रमाउन चाहन्छन् ।

संसारमै फिल्मलाई अभिव्यक्तिको सुन्दर र बलियो माध्यम मानिन्छ । यो मुलतः कला नै हो, त्यसपछि मात्रै अरु कुरा हो । फिल्मले दर्शकमाझ चेतना छर्छ । समाजमा परिवर्तन ल्याउन सक्छ । यसको प्रभाव र शक्ति कति उच्च छ, त्यसबारे चर्चा गरिरहनुपर्छ भन्ने लाग्दैन । यो यस्तो माध्यम हो जसका लागि दर्शक आफ्नो दुई÷तीन घण्टाको समय मन र मस्तिष्कले दिन्छन् । जबकि एउटा राजनीतिज्ञको भाषणका लागि उनीहरु आधा घण्टा पनि छुट्याउन तयार हुँदैनन् ।

अनि यस्तो बलियो माध्यमको प्रयोग गर्दै गर्दाखेरी फिल्मकर्मी सचेत र गम्भिर हुनुपर्छ कि पर्दन ? फिल्म समीक्षा होस् या फिल्मसम्बन्धी अन्य सामग्री लेख्दा होस्, मुलतः फिल्म पत्रकारको ध्येय फिल्मकर्मीलाई यस विषयमा गम्भिर र सचेत गराउने नै हुन्छ । मैले समीक्षा लेख्न थाल्नुको ध्येय पनि यही नै हो ।

केही समयअघि एउटा फिल्मले आफ्नो व्यवसायिकता सफलताको खुशी साट्न कार्यक्रम गरेको थियो । केही फिल्म पत्रकारहरु कार्यक्रम जाने तयारीमा थिए, मलाई पनि सोधे– जाने होइन ? मलाई निम्तो गरिएको थिएन, त्यसलै सिधैँ भने– ‘निम्तो आ’को छैन ।’ त्यसअघि त्यो फिल्मका सम्पूर्ण कार्यक्रममा मलाई निम्तो आएको थियो । फिल्म युनिटसँग सम्बन्ध राम्रै थियो ।
तर त्यो कार्यक्रममा निम्तो थिएन । कारण पनि स्पष्ट थियो– मैले त्यो फिल्मको आलोचनात्मक समीक्षा लेखेको थिएँ । हामी कहाँ फिल्मकर्मीहरु आलोचना गर्नेलाई शुभचिन्तक ठान्दैनन् । त्यसैले होला त्यो खुशी साटासाटको कार्यक्रममा मेरो उपस्थिति वाञ्छनीय ठानिएन ।

मैले कार्यक्रममा जान लागेको ति पत्रकार साथीलाई त्यतिवेला व्यंग्य पनि गरेको थिएँ, ‘धेरै उत्साहित नबन । सधैँ राम्रो लेखिरा’छौँ, अब एकपल्ट क्रिटिकल्ली लेख त्यसपछि थाहा हुन्छ, हाम्रो हैसियत के रहेछ ।’

 

कलाकारसँग नजिक हुन पाउँदा ठालू सम्झिने र गर्व महसुस गर्ने पत्रकार (उनीहरु सहि अर्थमा पत्रकार नहुन पनि सक्छन्)को जमात पनि यहाँ बाक्लै छ । व्यवसायिक सम्बन्ध त हुनुपर्छ तर जब त्यो व्यक्तिगत तहमा पुग्छ त्यतिबेला हाम्रो पत्रकारिता निष्पक्ष हुन सक्दैन ।

फिल्म पत्रकारिताले नेपालमा उच्च सम्मान पाउन नसक्नुको एउटा कारण पनि सायद यही व्यक्तिगत निकटताको परिणाम हो । कम्तीमा आफ्नो व्यक्तिगत सम्बन्धलाई न्युजरुम भित्र मात्रै बिर्सन सक्ने हो भने पनि समाचारमा निकटताको गन्ध आउँदैनथ्यो । तर दृश्य यहाँ फरक छ ।

मलाई लाग्छ, फिल्मकर्मी र फिल्म पत्रकारबीचको सम्बन्ध हामीले लेख्ने कलमको टुप्पामा अडिएको हुन्छ । गुनगान गाइरहनुस्, सम्बन्ध सधैँ सुमधुर हुन्छ । आलोचना गर्नुस्, कसरी बिग्रिन्छ व्याख्या गर्नु नपर्ला ।

यति लेख्दै गर्दा यो लेखको निष्कर्ष नेपाली फिल्मकर्मी आलोचना सुन्नै रुचाउँदैनन् भन्ने चाँही होइन । किनभने यहाँ केही फिल्मकर्मी यस्ता पनि छन्, जो आलोचना सहर्ष स्वीकार्छन् । यो लेख लेख्दै गर्दा उनीहरुप्रति मेरो उच्च सम्मान छँदैछ ।

अभिनेत्री केकी अधिकारीको उदाहरण त दिनैपर्छ । बौद्धिक अभिनेत्रीकी छवि बनाएकी उनले निर्माण गरेको ‘कोहलपुर एक्सप्रेस’माथि निकै आलोचनात्मक दृष्टिकोण राखेको थिएँ । कारण– उनको फिल्म हिन्दी ‘मुम्बई एक्सप्रेस’को नक्कल थियो ।

आलोचनापछि पनि मसँग गर्ने व्यवहारमा उनले कुनै परिवर्तन देखाइनन् । न रिसाएर नै प्रतिक्रिया जनाइन् । उनको अफेयर हल्लाबारे जान्न खोज्दा उल्टै सुझाइन्, ‘तपाईंबाट पाठकहरु केही रचनात्मक बहसको आशा गर्छन्, कम्तीमा मजस्तो पाठक । त्यसैले सस्ता गसिपतिर नलाग्नुस् ।’

उनले यसो भनिरहँदा– म मख्ख भएँ । तर उनको तारिफ सुनेर होइन, प्रोफेसनल व्यवहार देखेर । जो कमै कलाकारमा पाइन्छ ।

(शुक्रबार साप्ताहिकसँग आबद्ध यादव, चलचित्र पत्रकार संघ नेपालका महासचिव हुन् ।)

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha