मिडिया संयोजनको लक्ष्मण रेखा : अशेष अधिकारी

हुन त फिल्म एउटा कला हो जसमा निर्देशकले आफ्नो कथालाई दर्शकमाझ पेस गर्छ । सिनेमाको सुरूवात आम मानिसका लागि एउटा तिलस्मी आविष्कार थियो, जसको आविष्कारले सबैलाई चकित पार्यो । त्यसयता समयक्रममा सिनेमा एउटा मानिसको ‘कन्जुमर गुड’ भएको छ । अर्थात सिनेमा व्यापार हो ।

यसले व्यापारका सबै सिद्धान्त र नियम मान्दछ । सिनेमा बजारले हप्तैपिच्छे नयाँ प्रोडक्टका रूपमा नयाँ सिनेमा माग्दछ । बजारमा सामान बिकाउन प्रचार अपरिहार्य छ । सिनेमा पनि अपवादका अवस्थाबाहेक प्रचार बिना व्यापार गर्न सक्दैन् । आधा शताब्दी र केहि वर्ष नाघिसकेको नेपाली फिल्मका लागि कुनै समय ‘नयाँ नेपाली फिल्म बन्यो वा आउँदैछ’ भन्ने हेडलाइनमा अखबारको एक कुनामा छापिएको समाचार नै ठूलो प्रचार हुन्थ्यो ।

समयक्रमसँगै अवस्था फेरियो । नेपाली सिनेका समाचारले अखबारका कुनाबाट मुखपृष्ठ ढाक्ने अवस्थामा आइपुगेको छ चर्चा पनि त्यही अनुसार हुन थालेको छ । आज सिनेमाको बिट संचारमाध्यममा छुटाउन नहुने बिट बनिसकेको छ । सिनेमाको बिट आजको मितिमा थुप्रै अखबारमा सम्पादकको भूमिका निर्वाह गरिरहेका सम्पादकहरूको पत्रकारिताको पहिलो खुड्किलो थियो भन्नेमा पत्रकारिताको इतिहास साक्षी छ । हाल करिब २०० को संख्यामा पत्रकारहरू दर्जनौ संचारमाध्यममा काम गर्छन् । यसमा सिनेमाको मात्र रिपोर्टिङ गर्ने झण्डै तीन दर्जन अनलाइन छन् ।

फिल्म निर्माताहरू फिल्म प्रचारका लागि यिनै माध्यममा भर पर्ने गरेका छन् । संख्या बढेसँगै उनीहरूको यी संचारमाध्यमसँग प्रत्यक्ष पहुँच राख्न सक्दैनन् । त्यसमाथि निरन्तर फिल्म बनाउने निर्माताहरू कम भएको र नयाँ निर्माताहरूको संख्याका बाहिल्यता रहने अवस्थामा निर्माताहरूले सिनेमा प्रचारका लागि प्रचार संयोजनका लागि यी संचारमाध्यमसँग पहुँच राख्ने रंग पत्रकारहरूलाई फिल्मको मिडिया संयोजक राख्ने प्रचलन बढ्दै गएको छ ।

सरकारी नीतिमा हरेक कार्यालयमा संचार अधिकृत राख्ने नीतिलाई कार्यान्वयनमा सफल नभइरहेको अवस्थामा नेपाली फिल्म निर्माताहरूले गरिरहेको यस्तो अभ्यास आफेमा स्वागत योग्य काम हो । तर हरेक राम्रा कुरासँग नराम्रा कुराहरू जोडिएर आउने गर्छन् । राम्रा उदेश्यमा ‘फल प्ले’ हुने गरेका छन् ।पछिल्लो समयमा फिल्म प्रचारमा मिडिया संयोजकको काम गरिरहँदा विज्ञापन रकमको आडमा संचारमाध्यमको दुरूपयोगमा पनि बढोत्तरी हुन थालेको छ ।
हुन त सिनेमा पत्रकारितामा लेनदेनका आधारमा फिल्मी समाचारहरूको प्रकाशन, प्रसारण पहिलादेखि कै चुनौती हो ।

पछिल्लो समय मिडिया संयोजकहरूले ‘म गराउन सक्छु’ भनेर फिल्म निर्मातालाई दिने ध्वाँसका कारण सिनेमा पत्रकारिताको व्यवसायिकतामाथि प्रश्न उठ्ने क्रम बढेको छ । आज २०० बढिको हाराहारीमा यस बिटमा रिपोर्टिङ गरिरहेका पत्रकारहरूले लेनदेनमा समाचारलाई जोड्नाले व्यवसायिकतामा संकट आउन थालेको हो । सिनेमा पत्रकारिता गर्नेहरू अधिकाशं विशेषगरी अनलाइनमा काम गर्ने रंग पत्रकारहरू स्वयं त्यसका प्रकाशक पनि रहेकाले समाचारमा आर्थिक चलखेलको प्रभाव तिनले प्रकाशित गर्ने समाचारमा परिरहेको छ, जसका कारण नेपाली फिल्मका दर्शकले पाउने समाचारको विश्वसनियतामा शंका उत्पन्न हुन थालेको छ ।

कुनै समय थियो पाठकका लागि संचारमाध्यममा प्रकाशित र प्रसारित सामग्री सिनेमाको बारेमा जान्ने एक मात्र माध्यम थियो तर पछिल्लो समय सूचनाप्रविधीको विकाससँगै जन्मिएका सामाजिक संजालहरूले पनि संचारको काम गर्न थालेका छन् । यसले सूचना प्रकाशित वा प्रसारित हुने सिन्डिकेटको अन्त्य गरिदिएको छ । सामाजिक संजाल ठूला माध्यम बनेका छन् । तिनले आधिकारिता नजनाउने हुँदा संचारमाध्यम आफ्नो परिचयमा स्थापित भइरहेका छन् ।

तर संचारको औपचारिताको स्थान बनाएका तीनै संचारमाध्यमलाई सामाजिक संजालमा आम मानिसबाट अभिव्यक्त हुने कुराहरूले चुनौती दिइरहेका छन्, प्रश्न खडा गरिरहेका छन् । जुन संचारमाध्यमको विश्वसनीय उपस्थितिका लागि खतरा हो । यस्तोमा व्यवसायिक पत्रकारिताले मात्र संचारमाध्यमको उपस्थितिलाई दर्विलो बनाउँछ ।

त्यस कारणले गर्दा मिडिया संयोजन गर्ने रंगपत्रकारहरूको काँधमा नै यसको व्यवसायिकतालाई राखि राख्ने दायित्व र जिम्मेवारी छ । जिम्मेवारी निर्वाह गर्ने क्रममा उनीहरूले सीमित स्वार्थमा आत्मसमर्पण गर्नाले संमग्र पेशामाथि प्रश्न उठ्ने काम भइरहेको छ ।

यो आजको सिलसिला नभइ रंग पत्रकारिताको सुरूवातदेखि नै आएको समस्या हो । यसमा व्यवसायिकता दिनेहरूलाई त्यसमा निर्माताको स्वार्थमा सहमत हुनेहरूको बोलबालाले पेलिरहेको अवस्था छ । निर्माताहरूमा पैसाको बलमा जे पनि गर्न सकिन्छ भन्ने मनोविज्ञान बलियो भएर बसेको छ।

यसमा थुप्रै मिडिया संयोजकहरूले आर्थिक प्रलोभनमा निर्मातालाई खुशी पार्नका लागि प्रचार पैसाको आडमा रंग प्रत्रकारलाई दबाब दिने गरेका छन् । यो नै मूल समस्या हो ।

यसमा मिडिया संयोजक चनाखो हुने हो र पत्रकारिताको व्यवसायिकता धर्म निर्माताहरूलाई बुझाउने हो भने देखा परेको समस्या खास ठूलो होइन् । यो सिनेमा बिटसहत अन्यबिटको पनि समस्या हो । जसले गर्दा पत्रकारितालाई केहि ’बौद्धिक वेश्यावृत्ति’ ’प्रोस्टिच्युट’ जस्ता शब्दहरूको उपमा लाग्न थालेको छ । यी शब्दहरूको प्रयोग प्रेस आफ्नो काममा स्वन्त्रत हुन नसकेको अवस्थाबाट सिर्जित हुन पुगेको हो ।

यसमा चर्चित अमेरिकी लेखक स्टेड टार्केल (गैर(आख्यनतर्फका पुलित्जर पुरस्कार विजेता)को भनाई निक्कै सान्दर्भिक हुन् आउँछ । उनी भन्छन् ’स्वतन्त्र मिडिया चुटकिलाहरूको पनि चुटकिला हो । तपाई सोच्नुहुन्छ कि हरेक रात नोम चोस्की प्रसारित वा प्रकाशित हुन्छन् ?’

उनको भनाइले प्रेसमा हुने गरेका अवान्छित पत्रकारितालाई ‘चौथो अंग’बाट ‘पाँचौ अंग’ बनाइसकेको उनी जस्तै विद्वान व्यवसायिक पत्रकारिताका पक्षपोषकहरूको छ । यहाँ ‘पाँचौ अंग’को अर्थ पत्रकारिता, पत्रकारिता नभएको भन्ने हो ।
यसरी आर्थिक चलखेलले पेसामा संकट आउनु डरलाग्दो अवस्था हो । यसमा ’रेट्रोस्पेक्ट’ गर्ने बेला आइसकेको छ । फेरि यस्तो यो पेसामा संलग्नहरूबाट हुनु अत्यन्तै पीडादायी कुरा हो ।

बेलाबेलामा केहि निर्माता एवं कलाकारसमेतले ‘एक प्लेट मममा बिक्नेहरू’ भनेर ठाडै हिलो छ्याप्ने अभिव्यक्तिबाट हामी कतातर्फ गइरहेका छौ, कस्तो पद्धतिको विकास सिनेमा पत्रकारितामा भइरहेको छ भन्ने छर्लङ पार्छ । यसमा दोष कस्को भन्दा, हामीले हाम्रै सहकर्मीसाथीहरूलाई सम्झनुपर्ने भएको छ । हो, सिनेमा पत्रकारिताको आफ्ने आयाम छ तर आधारभूत विचार त यसले व्यवसायिक पत्रकारिताको नै बोक्छ । हामीले अनुसरण गर्नुपर्ने त्यसैलाई हो ।

केहि समय अगाडी एउटा कमेडी र अर्को हरर सिनेमाले करोड कमाएको भन्दै केक काटे । त्यो समाचार लगभग सबै सञ्चारमाध्यममा प्रकाशित भयो तर यो समाचारले फिल्मकर्मीमाथि कम र हाम्रो पत्रकारिताको अभ्यासमाथि ज्यादा प्रश्न उठाए । किनकि ती सिनेमा समीक्षकका नजरमा सिनेमा जस्ता थिएनन् भने व्यवसायिकरूपमा पनि तीनले गतिलो काए गरेका छैनन् । जस्तो रूपमा ती प्रचारित भए ।

यस अवस्थामा हामीले त्यसका आधारहरू के हुन भनेर प्रश्न नै गर्न सकेनौ ? कतिले समाचार लेखेनौ, कतिले निर्माताहरूले चाहेजस्तो समाचार लेखिदिए र उनीहरूको मुखपत्र बने । यसमा समाचार नलेख्ने उम्किए भन्ने होइन, उनीहरूले चुप बसेर अर्को बेइमानी गरे, नाङ्गो नाच गर्नेको त के के देखियो भनेर चर्चा गरिराख्नु परेन ।

हाम्रो पेसाको मूल दायित्व प्रश्न गर्ने हो, कसैको विचार वा अभिव्यक्तिलाई जस्ताको तस्तै लेखिदिने होइन, उनीहरूले दिएका वा भनेका दाबीको विश्वसनियता खोज्ने र प्रस्तुत गर्ने हो जुन हामीले गर्न सकेनौं ।

यस्तो हुनुमा हाम्रो समाचारको व्याख्यालाई लिएर केहि भ्रमहरू छन् । सबै चिज समाचार बन्दैनन् । समाचार बन्नुपर्छ भन्ने विषयमा प्रश्न गर्ने र तीनको सहि उत्तर दिन सक्ने अवस्थामा मात्र ती समाचार वा अन्य सामाग्री बन्न सक्छन् । सिनेमा रिपोर्टिङ एउटा प्रक्रियाबाट जान्छ । हामीले त्यो प्रक्रियालाई अनुसरण गर्दा समाचारका रूपमा नदेखिने किसिमले बन्ने ‘प्रोपागाण्डा’बाट बच्न सकिन्छ ।

सिनेमाका समाचार फिल्म निर्माण घोषणा भएदेखि बन्न थाल्छन् । त्यसपछि सुटिङका कुरा, उसले प्रयोग गर्ने प्रविधि, ट्रेलर, गीतसंगीत, ती फिल्म गर्दाका कलाकार, निर्माता, निर्देशकका अनुभव भोगाइ आदिको सेरोफेरोमा नै समाचार लेख्ने र प्रकाशन गर्ने काम गरिन्छ । यसमा यससँग सम्बन्धित इतिहास, वर्तमान र भविष्यको कोणबाट दृष्टिगत गर्दै समाचार लेखिन्छ । यस्ता समाचारले कुनै पनि फिल्मका लागि माहोल बनाउने वा दर्शकलाई आफूतिर आकर्षित गर्ने काम गराउँछ । यसमा फिल्मवालाको लागि यी समाचारहरूले गतिलो प्रचारको काम गरिदिन्छन् ।

यहाँसम्म त सबै चीज सिनेमा पत्रकारिताको ठीक चल्छ तर जब फिल्म सार्वजनिक हुन्छ तब ‘लाजमर्दो खेल’ सुरू हुन्छ । फिल्म गतिलो भए रिलिजकै दिन फिल्मको समीक्षा आउनुपर्ने इच्छा व्यक्त गर्छन् । तर जब फिल्म दर्शकको नजरमा वा सिनेमा कै कोणबाट कमजोर टहर्छ तब निर्माताहरू कुर्लन्छन, ’नेपाली फिल्म बामे सर्दैछ, हामी सिक्दै छौ, रिलिजकै दिन समीक्षा लेखेर अर्काको लाखौं वा करोडौं लगानी डुबाउन लाग्ने, दुई तीन दिन पछि लेख्दा के हुन्छ?’

यस्तो मुलधारे पत्रकारितामा उनीहरूले सिधै त हमाला गर्न सक्दैनन तर फिल्मको विज्ञापन राखेका संचारमाध्यममा पैसा दिएको दुहाई दिदैं आफू अनुकुल समाचार छाप्न र प्रसारण गर्न दबाब दिन्छन् वा छाप्न दिदैनन् । यसमा ती संचारमाध्यमलाई निर्माताभन्दा पनि नियमित मिडिया संयोजन गर्नेहरूले विशेष दबाब दिन्छन र प्रभावित गर्ने काम गर्छन् । कतिपय अवस्थामा त उनीहरूको चिन्ताको पारो स्वयम् निर्माताको भन्दा बेसी हुन्छ ।

अनि केहि निर्माता यतिसम्म शक्तिशाली भइदिन्छन की उनीहरूले सिधैं ’मार्केटिङ विभाग’बाट सफ्ट समीक्षा वा पक्षपोषणयुक्त समीक्षा लेख्न दबाब दिन्छन् । अनि नचाहँदा नचाहँदै पनि पत्रकार सो मिडिया हाउसको मालिकको आदेशका अगाडि ‘नाईं’ भन्न सक्दैन् । यतिबेला कडा ठानिएको समीक्षक आफ्नो ’जिजिविषाको सवालमा’ सम्झौता गर्न बाध्य हुन्छ किनकि नेपालमा प्रकाशकलाई चुनौती दिने सम्पादक औंलामा गन्न सकिने पनि छैनन् ।

यस अवस्थामा प्रश्न उठ्छ, समाधान के? र कसले गर्ने? यसको पहिलो दायित्व स्वयं मिडिया संयोजक हो । उनीहरूले काम गरेबापतको अलिकति बढि पारिश्रमिकको आशामा पत्रकारिताको व्यवसायिकतालाई बिर्सन हुँदैन् ।

संयोजकहरूले निर्माताहरूलाई प्रेसको धर्म र घेराको जानकारी दिदैं त्यसमा ’कन्भिन्स’ गराउनुपर्छ । फिल्म रिलिज अगाडि प्रचारको व्यापक्ताकोसम्म जिम्मेवारी लिनुपर्छ तर पेसागत मर्यादामा खेल्न नसकिनेमा स्पष्ट पार्नुपर्छ । उनीहरूले यो अभ्यास गर्ने हो भने सिनेमा पत्रकारितालाई लाग्ने गरेको आरोपलाई रोक्न सकिन्छ ।

मिडिया संयोजकहरूलाई के डर छ भने, ‘यदि मैले हुन्न भन्न सकिन भने अर्कोले गर्छ ।’ प्राय सबैलाई यही डर छ । यसमा पनि मिडिया संयोजकहरू एक ठाउँमा आएर सामूहिक अडानहरू निर्धारण गर्ने हो भने अहिलेको अवस्था हट्छ । संयोजकहरूले निर्माताहरूलाई उनीहरूको अन्तिम बिन्दु भनेको समाचार माध्यमको ’एड स्पेस’ सम्म हो, त्योभन्दा बेगल ठाउँ व्यवसायिक पत्रकारिता हो भनेर स्पष्ट बनाउनुपर्छ ।

यसपछि यसमा दोश्रो दायित्व संचारमाध्यमको हो । उनीहरूले कुनै फिल्मको विज्ञापन आउनुको अर्थ त्यो छापिने वा प्रसारित हुने समाचारको ’स्पेस’ किनिएको होइन् । उनीहरूले चलाउने मिडियमले पहिले नै विज्ञापनका लागि निर्धारण गरेको ’स्पेस’का लागि हो । उपलब्ध समाचार ’स्पेस’ नियमसंगत सम्पादकीय नीति अनुसार प्रकाशित वा प्रसारित गर्नुपर्छ । त्यसमा ‘यो या त्यो’ नामको स्वार्थमा सम्झौता हुनु हुँदैन् ।

यी दुवै कामका लागि रंग पत्रकारहरूको छाता संगठनले सहजकर्ताको भूमिका खेलेर सिनेमा पत्रकारिताको व्यवसायिकतालाई जोगाउन सक्छ । उदाहरणका लागि चलचित्र पत्रकारहरूको छाता संगठनको कार्यसमितमा फिल्मको मिडिया संयोजन गर्ने पत्रकार साथीहरू छन् । यो कुरा उनीहरूको पहलमा सम्भव नहुने कुरै छैन् । यसमा संघको नेतृत्वले पहल गर्ने बेला भइसकेको छ किनकि व्यसायिक सिनेमा पत्रकारिताको प्रवद्र्ध्न गर्नु नै यो संस्थाको वर्तमान आवश्यक्ता हो । यसो गर्न सके मात्र संस्थाका सदस्यहरूको व्यवसायिक पत्रकारिता गर्नेपर्ने धर्मको रक्षा हुन्छ, इज्जत बढ्छ ।

यसरी काम गर्ने हो भने निर्माताहरूले त्यसलाई मिच्न वा नाघ्न दबाब दिने हैसियत किञ्चित राख्न सक्दैनन् । यस्तो हुँदाको अवस्थामा समाचारलाई समाचारका रूपमा पाठक, दर्शक तथा श्रोतामाझ प्रस्तुत गर्न सकिन्छ । यसको बृहत्तर फाइदा नेपाली सिनेमाले नै पाउने हो । नत्र पेसाका नाममा हामी पत्रकारिता होइन, कठपुतली पत्रकारिता गर्न बाध्य हुनेछौं जुन अरुको इसारामा नाच्दा नाच्दै थाहै नपाइ फेजआउट हुन्छ ।

(अधिकारी, सेतोपाटी डटकमसँग आबद्ध छन्)
रमाइलो छ स्मारिका २०७५

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha