पत्रकारिता की पर्चाकारिता ? : गोकर्ण गौतम

पत्रकारको आधारभूत पेशागत धर्म हो, सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार पस्कनु । यसमा सायदै कसैको विमति रहला । त्यसो हो भने, रंग भनिने फिल्मी पत्रकारिता गरिरहेका साथीहरूले ऐना अगाडि बसेर सोध्ने बेला आएको छ, हामीले यो धर्मलाई व्यवहार उतारेका छौं त ? सात वर्षयता मैले धेरथोर रंगपत्रकारिता पनि गरिरहेको छु । अरु साथीको लेखन र प्रस्तुतिलाई नियालिरहेको छु । यस आधारमा मेरो अनुभव भन्छ, हामी पत्रकारिता कम, पर्चाकारिता ज्यादा गरिरहेका छौं । यो निचोडमा पुग्नुको कारण अनेक छन् ।

समाचार जहिल्यै पाठक÷दर्शकसँग जवाफदेही हुनुपर्छ । सूचना नयाँ मात्र होइन, प्रभावकारी वा पाठकका लागि उपयोगी पनि हुनुपर्छ । सत्यतामा थोरै तलमाथि हुनुहुन्न । तर फिल्म रिलिजपश्चात् व्यापारसम्बन्धी आउने अक्सर समाचारलाई केलाउनुस्, यी आधारभूत गुणको चर्को खडेरी हुन्छ । जस्तो, केही समययता करोड क्लबको डंका पिटाउने फेसन छ । हलमा दर्शकको हाहाकार हुन्छ, तर इनबक्समा न्युज आउँछ, फलानो फिल्मले करोड कमायो । न्युज निर्माताले होइन, कथित पत्रकारले नै पठाउँछ । हामी कहाँ अझ बक्स अफिस लागु हुन सकेको छैन । त्यसैले निर्माता र वितरकको मुखराबिन्दबाट निस्कने हिसाब पत्याउनु पर्ने बाध्यता छ । र, हामी सबैलाई थाहा छ, प्रायःले बढाएरै भन्छन् । एक करोडको ब्यापार भनिरहदा मुस्किलले ४०–५० लाख पुगेको हुन्छ ।

तर हामी सिधैं लेखिदिन्छौं, फलानो फिल्म करोड क्लबमा, सुपरहिट भयो । लौ मानौं, करोड नै व्यापार ग¥यो रे । त्यसो हो भने पनि निर्माताको हातमा मुस्किलले ३५ लाख रुपियाँ पर्छ । आजकल फिल्मको औसत बजेट नै सवा करोड हुन्छ । अनि, कसरी फिल्म हिट भयो ? अर्थात् कुल व्यापारलाई खुद नाफा झैं हल्ला गरिदिन्छौं । त्यही समाचार निर्माता वा निर्देशकका लागि नयाँ मुर्गा फसाउने ‘अस्त्र’ बनिदिन्छ । पाठकलाई ढाँट्छौं । अनि, यसलाई पत्रकारिता भन्ने की पर्चाकारिता ?

आफ्नो फिल्मको यस्तै आधारहिन समाचारको ढोल पिटाउने निर्माता–निर्देशक अर्काको फिल्मको समाचार आउँदा कुटिल हाँसो हाँस्छन्, उस्तै परे मिडियालाई उडाउँदै फेसबुकमा स्ट्याट्स ठोक्छन् । फिल्म ‘सुनकेसरी’ युनिटले करोड क्बलमा पुगेको भनेर केक काट्यो, पत्रकारको लर्को लाग्यो, हिरोइन÷निर्मात्री ऋचा शर्माले बडो गर्वका साथ भनिदिइन, ‘तपाईंहरूलाई हेडलाइन चाहियो नि ।’ उनको यही वाक्यबाट प्रष्ट हुन्छ, पत्रकारितालाई कति हल्का रुपमा लिइन्छ, पत्रकारको साख कसरी निर्माण भएको छ । प्रायः फिल्मकर्मीको साझा सोचाइ हो यो । ऋचाले सबैका सामुन्ने भनिन, त्यो अलग कुरा ।

अर्को उदाहरण पनि राखिहालौं, ‘कोहलपुर एक्सपे्रस’ प्रदर्शनपश्चात् हिरोइन÷निर्मात्री केकी अधिकारीले भनिन, ‘मुम्बई एक्स्प्रेस’बाट चोरेको होइन, सामान्य प्रभावित भएको मात्र हो । जबकि दुवै फिल्म हेरेर चोरेको वा प्रभावित भएको जो कोहीले छुट्याउन सक्छ । प्रभावित नै भए पनि रिलिज अगावै जानकारी गराएर इमानदारिता देखाउनु पथ्र्यो । त्यसमाथि मिडियाले सिर्जनाको सम्मान गर्नुपर्छ, चोरी प्रवृत्तिलाई कहिल्यै ढाकछोप गर्नुहुन्न । तर केकीको बोलीलाई नै अमरवाणी मानियो । न्युज लेख्दा अक्सर पत्रकारले आफ्नो विवेक प्रयोग गरेनन् । यो पत्रकारितालाई ‘वाच डग’ भन्ने की ‘ल्याप डग’ ?

कसैले फेसबुकमा फलानो कलाकारसँग फलानो फिल्म बनाउँदै छु भनेर लेखिदिन्छ, हामी ब्रेकिङ वा एक्स्क्लुसिभ न्युज लेख्न तछाडमछाड गर्छौं । फेसबुक पक्कै सूचनाको स्रोत हो तर त्यसैमा भर परेर न्युज लेख्नुचाहिँ ‘चिप’ हुनु हो । सूचनाको आधिकारिता पुष्टि गर्नैपर्छ । पाँचतारे होटलमा भव्य घोषणा गरेर सुटिङसम्म नभएका फिल्म कयौं छन् तर ती मेकरप्रति हामी प्रश्न उठाउदैनौं । ‘उकालीमा…’ गीत अनाधिकृतरुपमा लिएको आरोपमा ‘कृ’का निर्माता सुवास गिरीलाई प्रहरीले हिरासतमा राख्यो । शम्भु प्रधानलाई ११ लाख हर्जना तिरेर निस्किए । बाहिर आएर पत्रकारसम्मेलन गरे । हामीले उनको भनाइ हुबहु पत्यायौं र उनलाई चोख्याउने नियतमा शब्दहरू खर्चियौं । गिरीले आफ्नो भनाइ राख्न पाउनुपर्छ । उनलाई वेवास्ता गर्नुपथ्र्यो भन्ने कदापि होइन । तर त्यो समाचार लेखिरहदा अर्काे पक्षअर्थात् शम्भु प्रधानको भनाइ समेट्नु अत्यावश्यक थिएन त ? यो काण्डमा कतिपय सिनियर भनिएका पत्रकारकै असली हविगत देखियो ? यसलाई निष्पक्ष पत्रकारिता भन्ने की एकपक्षीय वा पूर्वाग्रही पत्रकारिता ?

तर समस्या केकी अधिकारी, सुवास गिरी वा अरु कोही अमुक व्यक्तिको हुँदै होइन । नेता, व्यापारी, खेलाडी, फिल्मकर्मी, जो सुकै होस्, मिडियालाई आफू अनुकुल प्रयोग गर्न खोज्छन् । मानवीय स्वभाव नै हो । चनाखो त पत्रकार आफैं हुने हो । त्यसैले अरुलाई दोष दिनुभन्दा आफूले लेखेका समाचार सम्झेर समीक्षा गर्नु श्रेयस्कर हुन्छ । हामीकहाँ एउटा चाकडी÷प्रसंशाको अतिवाद छ, अर्को आधारहिन आवेगको । जस्तो, व्यक्तिगत मनमुटाव वा स्वार्थको हिसाब नमिलेपछि कतिपय साथीहरूले कलाकार र फिल्ममेकरको नाम तोकेर हाक्काहाक्की भनिदिन्छन्, ‘फलानोलाई त सिध्याउने हो ।’ एक त जति ठूलो मिडियामा काम गरे पनि पत्रकारले कसैलाई सिध्याउन सक्दैन् । दिवास्वप्न मात्र हो । अर्को कुरा, यसरी रिसइबी साँधेर उसले त्यो व्यक्तिलाई होइन, समग्र पत्रकारिता र आफैंलाई छुरा प्रहार गरिरहेको हुन्छ । नभुलौं, हाम्रो कलमसँग कसैप्रति तथ्यहिन रिस पोख्ने होइन, सत्य कुरा लेख्ने अधिकार मात्र हुन्छ । राम्रो काम गर्नेको प्रशंसा गर्न र नराम्रो गर्नेको आलोचना गर्न रत्तिभर कन्जुस्याई गर्नु हुन्न । समाचार सधैं सत्य, सन्तुलित र विश्वसनीय हुनुपर्छ । यसो हुँदा कहिले कसैलाई घाटा होला, कहिले नाफा । पत्रकारको सरोकारको विषय होइन यो ।

आजकल हरेकजसो फिल्ममा मिडिया को–अर्डिनेटर राखिन्छ । यो अभ्यास आफैंमा गलत नहोला । तर यसले व्यावसायिक पत्रकारितामा बिस्तारै नकारात्मक प्रभाव पार्न थालेको छ । यो चाहिँ बिडम्बना हो । मेरो बुझाइमा मिडिया को–अर्डिनेटरले पत्रकार र फिल्ममेकरबीच पुलको काम गर्ने हो । खासगरी आवश्यक पर्दा फिल्ममेकरसँग पत्रकारको सहज पहुँच पु¥याउन र प्रेसमिटको खबर गरिदिन । तर यस्ता कथित ओ–अर्डिनेटर पनि छन्, जो फिल्ममेकरको प्रवक्ता मात्र होइन, भक्त हुन्छन् । फिल्म वा फिल्ममेकरको कामप्रति फेसबुकमा आलोचनात्मक प्रतिक्रिया राख्यो भने आत्तिदै ‘डिफेन्स’ गर्छन् । अझ विज्ञापन लिएको कुनै अनलाइनले क्रिटिकल भएर न्युज लेख्यो भने सम्बन्धित फिल्ममेकरको भन्दा मिडिया को–अर्डिनेटरको बढी टाउको दुख्छ । र, प्रचारात्मक न्युज लेख्न दबाब दिन्छ । उसको आशय हुन्छ, विज्ञापन लिएपछि स्तुतिगान गाउनै पर्छ । यदि यो सोचाइ कुनै को–अर्डिनेटरले राख्छ भने उसलाई पत्रकार होइन, ठेकेदार भनिनुपर्छ । किनभने, विज्ञापन र समाचार विल्कुलै अलग कुरा हुन् । कम्तिमा मिडिया को–अर्डिनेटरले फिल्ममेकरलाई यो तथ्य बुझाउन सक्नु पर्छ ।

तर मेरो मतलब, सबै पत्रकार वा मिडिया को–अर्डिनेटर पेशागत मान्यतालाई कुल्चेर फिल्मकर्मीप्रति बफादार भइरहेका छन् भनेर सामान्यीकरण गर्नु कदापि होइन । यो चाहिँ जरुर हो की, सही अर्थमा पत्रकारिताको मर्म आत्मसाथ गर्न हामी चुकिरहेका छौं । यो वा त्यो बहाना र कथित बाध्यतामा । त्यसैले यहाँ व्यक्ति होइन, प्रवृत्तिको कुरा गर्दैछु । किनभने, फिल्म आत्मरति र सपनाको खेती बनिरहेको छ । हाम्रो पत्रकारिता त्यही खेतीमा सिचाई गर्न उद्यत त छैन? सवाल खडा हुन थालेको छ ।

आत्मरति र भ्रममा रमाउनु अलग कुरा, समग्र पत्रकारिताले यथेष्ट विश्वसनीयता कमाउन सकेको छैन । समाचार सधैं सत्य र पूर्वाग्रहरहित हुन्छ भन्ने विश्वास स्थापित नहुनु पीडादायी पक्ष हो । हाम्रा पेशामा धेरै छिद्र बाँकी छन् । विधागत रुपमा हेर्दा रंग वा फिल्म पत्रकारिताको हालत थप कमजोर छ । मुलधारका मिडियाले फिल्मसम्बन्धी सामग्रीलाई दिइराखेका ‘स्पेस’बाटै यसको छनक मिल्छ । फ्रन्ट पेज स्टोरी वर्षमा एकाधमा सीमित हुन्छन् । कतिपयको दृष्टिमा सबैभन्दा सजिलो बिट नै फिल्म हो । यस्तो किन भइरहेको छ भने हामीले रिर्पोटिङ गर्दा नै सिनेमालाई समाज र कलासँग जोड्न सकेका छैनन् । फिल्म बन्यो, चल्यो, यसले कति पारिश्रमिक कमायो, फलानो हिरोइनको फलानोसँग अफयेर छ, भन्ने प्रकृतिका समाचारको बाहुल्य हुन्छ । गम्भीर र पठनीय रिर्पोटिङ साँच्चै कम हुन्छ । मिडिया हाउस मात्र होइन, दर्शक÷पाठकमा समेत फिल्म पत्रकारिता करिब चटनीमा सीमित छ । हो, हामी ‘अपग्रेड’ हुन खोज्दैछौं । तर रफ्तार पकड्न सकेका छैनौं ।

त्यसैले हाम्रो पत्रकारिताले साख कमाएन भनेर रोइलो मच्चाउनु चाहिँ निरर्थक हो । किनभने, इज्जत र प्रतिष्ठा माग्ने वा पाइएन भनेर गुनासो गर्ने होइन । आर्जन गर्ने हो, आफ्नो कर्म र इमानदारिताबाट । त्यसो भए, हामीले पस्किएका समाचार सामग्री अपेक्षा गरेझैं प्रतिष्ठा कमाउन लायक छन् त ? कि हामी समाचारको नाममा पर्चा लेख्दै छौ ?अरुलाई परेन, आफैलाई सोधौं ।

(गौतम, नेपाल साप्ताहिकसँग आबद्ध छन्)

रमाइलो छ स्मारिका ०७५

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha