‘सयकडा दश’ हेर्दा मन्त्री लालबाबु पण्डित रोए !

संघीय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डित, मुख्य सचिव लोकदर्शन रेग्मी, अख्तियार पूर्वप्रमुख सूर्यनाथ उपाध्यायसहित सरकारका उच्च पदस्थ कर्मचारीले शनिबार फिल्म ‘सयकडा दश’ हेरेका छन् ।

फिल्म हेरेपछि मन्त्री पण्डितले विषयवस्तु, प्रस्तुति, सन्देश र मौलिकताको आधारमा राष्ट्रिय फिल्म तय गरिनुपर्ने बताए । उनले भ्रष्टाचारको सामाजिक प्रभाव चित्रण गरिएको फिल्म ‘सयकडा दश’लाई राष्ट्रिय फिल्म भन्न सकिने तर्क पेश गरे ।

फिल्म हेरिरहँदा पटक–पटक रोएको बताउँदै उनले युवाले उक्त फिल्म एकपटक हेर्नैपर्ने सुझाए । ‘यसको सन्देश प्रभावशाली मात्रै छैन, सरकारलाई घच्घचाउने खालको समेत छ’ उनले भने, ‘भ्रष्टाचार रोक्नका लागि फिल्मले भनेजस्तै सरकार कटिबद्ध छ ।’

उनले छेवैमा उभिएका अभिनेता एवं राजाराम पौडेलको अभिनयको खुलेर प्रशंसा गरे । फिल्ममा पौडेल एक भ्रष्ट सरकारी अधिकृतको भूमिकामा प्रस्तुत छन् । मुख्य सचिव रेग्मीले फिल्म समसामयिक र सन्देशमुलक रहेको भन्दै संक्षिप्त प्रतिक्रिया दिए ।

अख्तियार पूर्वप्रमुख उपाध्यायले भ्रष्टाचार नियन्त्रण प्रयासका लागि फिल्म सशक्त माध्यम भएको बताए । ‘सयकडा दश भ्रष्टाचार नियन्त्रण र सदाचार समाज बनाउनका लागि एउटा आदर्श हो’ उनले भने, ‘सरकार मात्र हैन, नागरिक समेत यसतर्फ चेतनशिल हुनु जरुरी छ ।’

शुक्रबार रिलिज भएको रामशरण पाठक निर्देशित फिल्ममा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायतको अभिनय छ । फिल्मले शनिबार मल्टिप्लेक्स र एकल पर्दामा राम्रो व्यापार गरेको निर्मात्री रज्जु प्रधानले बताइन् । दर्शन नेपाल क्रिएसनले निर्माण गरेको फिल्मलाई गतसाता थाइल्यान्ड र म्यानमारमा प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha