६० % सेयर माग्दै निर्माताले दिए हल बन्द गर्ने चेतावनी

गत शनिबार भएको निर्माताहरुको भेलाले पन्ध्र वर्ष पहिले निर्माता संघ र चलचित्र संघबिच भएको सम्झौता उल्टाउन माग गरेको छ । २०६० सालमा दुई बिच भएको वितरकले ५५ देखि ६० प्रतिशतसम्म र प्रदर्शकले ४० देखि ४५ प्रतिशत सम्मका दरले सेयर रकम लिने दिने सहमति भएको निर्णय पुनः कार्यन्वयन गर्न आग्रह गरेका छन् । यदि संघले आफ्ना मागलाई सम्बोधन नगरे आउँदो जेठ १ गतेदेखि हल नै बन्द गर्नेसम्मको चेतावनी निर्माता संघका महासचिव रोज राणाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । पुरा विज्ञप्ती पढ्नुस् :

नेपाली चलचित्रको अस्तित्व रक्षार्थ, स्वदेशी चलचित्रको प्रदर्शनमा भएका विद्यमान अप्ठ्यारा स्थिति, निर्माताले भोग्दै आएका सेयर बाँडफाँड लगायत अन्य समस्याहरुलाई सर्वसुलभ तरिकाबाट समाधान गर्न मिति २०७५÷०१÷०८ गते शनिबार सम्पन्न निर्माताको वृहत भेलाबाट तपशील बमोजिमका निर्णय गरेको जानकारी गराउँछौं ।

१. सेयर बाँडफाँडको सवालमा विगतका वर्षहरुमा निर्माता संघले व्यवसायिक समान हकहित स्थापित गर्न विभिन्न मितिमा नेपाल चलचित्र संघसँग सहमतिहरु गर्दै आएको छ । तर समयक्रममा यस्ता सहमति र सम्झौताहरुलाई चलचित्र संघका सदस्य रहेका ठूला हलले उल्लङ्घन गरेको र त्यसको देखासिखी गर्दै अरु केही चलचित्र भवनहरुले पनि सम्झौतालाई लत्याएर आफूखुशी गर्ने गरेको हामीमा विदितै छ । त्यसबाहेक पनि संघले सहमति गर्ने तर कार्यान्वयन गर्ने समयमा अटेरी गर्ने गरेको यथार्थ पनि हामीमाझ लुकेको छैन । तसर्थ आजको भेलाले सेयर बाँडफाँडको सवालमा मिति २०६० साउन २३ गतेको चलचित्र संघसंग भएको सम्झौता पुनरावलोकनका लागि जोड दिएको छ । उसबेला ४२ दिनको अनवरत आन्दोलन पश्चात निर्माता संघ र चलचित्र संघका बीच भएको मुख्य सम्झौतामा चलचित्र प्रदर्शन पश्चात उठेको कूल रकममा भ्याट कट्टा गरी बाँकी रकममा चलचित्र भवनको भौतिक सुविधा, व्यापार, ठाउँ तथा क्षेत्रको आधारमा निर्माता÷वितरकले ५५ देखि ६० प्रतिशतसम्म र प्रदर्शकले ४० देखि ४५ प्रतिशत सम्मका दरले सेयर रकम लिने दिने सहमति भएको थियो । शनिबारको भेलाले सो सम्झौता कार्यान्यवयनका लागि संघलाई आग्रह गर्ने निर्णय गरेको छ । यसका अलवा चलचित्र घरमा बजाइने ट्रेलर, पोष्टर, स्थानीय पब्लिसिटी खर्चहरु लगायत अन्य मागहरु चलचित्र संघसंगको छलफलमा निर्णय गर्ने पनि संघको भेलाले निर्णय गरेको छ ।

२. बक्स अफिस कार्यान्वयन सम्बन्धमा नेपाल सरकारले तोकेको समयसीमा भित्रमा बक्स अफिस कार्यान्वयनका लागि राज्यलाई जोडदार माग गर्दै संस्थागत सहयोग गर्ने ।

निर्माताहरुको वृहत सामुहिक भेलाले गरेको माथि उल्लेखित मागहरु वैज्ञानिक तवरबाट निर्माताको हितमा विगतदेखि गरिदै आएको दुई संघबीचको संस्थागत सहमतिको निरन्तरतासहित हाम्रा मागहरुका बारेमा नेपाल चलचित्र संघसंगको वार्ताको सबै ढोकाहरु खुल्ला राख्दै हामी वार्ता र सम्वादबाटै समस्याहरुको समाधान गर्न प्रयत्नरत छौं । यदि जेष्ठ १ गतेको समयावधि भित्रमा सिनेमा भवनहरुको संगठित संस्था नेपाल चलचित्र संघबाट हाम्रा मागहरु प्ूरा नभएको खण्डमा नेपालमा सार्वजनिक प्रदर्शनमा आउने कुनै पनि भाषाका स्वदेशी तथा विदेशी चलचित्रहरुको सार्वजनिक प्रदर्शनमा रोक लगाइ संघर्षका थप कार्यक्रमहरु सार्वजनिक गरी आन्दोलनमा उत्रन वाध्य हुने छौं ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha