निलुको नाममा…

उत्सब रसाइली
शुक्रबार दिउँसो चार बजेको हुँदो हो, बिग मूभिजबाट ‘कारखाना’ हेरेर बाहिर निक्लदै थिएँ, निलुलाई देखें तर उनले देखिनन् । मैले बोलाएँ, अनि नजिक आएर ‘हग’ गरियो, वात मारियो । त्यो अंकमाल त्यतिबेलाको लागि एकदमै सामान्य थियो । भनुँ न, औपचारिकता निभाए झैं । तर के थाहा त्यही स्पर्श नै निलुको लागि मेरो सम्झना र प्रेमको सबभन्दा यादगर हुनेछ । किनभने त्यो आत्मिय अंकमाल अब मैले कहिले पाउने छैन । त्यो मुहारको मुस्कान कहिल्यै देख्न पाउने छैन । हामी हाँसी खुशी छुटिएको २१ घण्टा पनि बित्न पाएको थिएन, खाना खाँदै थिए, विनोद पौड्याल दाईको फोन आयो ।

विनोद दाईले यस्तो खबर सुनाउनु भयो, मानौं की मेरो कानमा कसैले आगोको मुस्लो रोप्यो । पत्याउनै नसक्ने तर त्यो ज्यादै कठोर सत्य थियो, निलुको मृत्युको । लाग्यो, त्यो खबर झुठो भैदियोस । तर कहाँ हुन्थ्यो र ? मृत्यु असम्यभावी हुन्छ, थाहा छ तर आफ्नो प्रियजनको मृत्युको साक्षात्कार गर्दा आफैं निकै जल्नु पर्छ । मलाई त्यस्तै भयो । अनि आफैं फिल्म निर्देशन गर्ने निलुसँग बिताएका हर पलहरु सिनेमाको रिलझैं मेरो दिमागमा घुमें । किनभने निलु जति प्रतिभावान निर्देशक थिइन, त्यो भन्दा कयौं असल थिइन मान्छे र साथीको रुपमा । छलकपट, रिस, लोभ, स्वार्थ अनि नकारात्मक भाव भन्दा पुरै पर ।

निलुकी हितैषी माल्भिका सुब्बा, जो निलुले निर्देशन गरेको फिल्म ‘हाउ फन्नी’ की कार्यकारी निर्माता पनि हुन्, उनले निलुले छोडेर गएका केही अधुरा सपनाहरु बारे बताएकी छिन । निलु आउँदो आइतबार जुलाई ९ मा आमालाई भेट्न अष्ट्रेलिया जाँदै थिइन । प्लेन टिकट पक्का भैसकेको थियो । तर भावीको खेला कसले जानेको छ र, निलुलाई भेट्न आमा स्वयम नेपाल आउनु पर्ने भएको छ । त्यो भेटमा आमा र छोरीबिच दोहोरो कुराकानी हुनेछैन । आमा नेपाल आउँदा निलु शव वाहनमा हुनेछिन । न उनले आमालाई देख्न पाउँछिन, न केही भन्न नै । कति कारुणिक होला आमा–छोरीको त्यो भेट ? अष्ट्रेलियाबाट फर्किएपछि निलु नयाँ फिल्म बनाउने योजनमा थिइन । स्क्रिप्ट राइटर शान बस्न्यातसँग निलुले निर्देशन गर्ने नयाँ फिल्मको स्क्रिप्टको काम हुँदैथियो । शनिबार मध्यान्ह् टिचिङ अस्पतालमा शान शून्य थिए । उनी केही बोल्न सकिरहेका थिएनन । शान पछिल्लो समय निलुका सबभन्दा नजिक थिए । शुक्रबार मैले भेट्दा पनि निलु शानसँगै थिइन ।

‘हाउ फन्नी’ पछि निलुले निर्देशन गरेको अर्काे फिल्म ‘मिथ्या’ को काम पनि उनले अपुरै छोडेर गएकी छन् । नायिका प्रियंका कार्काी लगायत कलाकारहरुको अभिनय रहेको फिल्मको हाल सम्पादन भैरहेको छ । सस्पेन्स थ्रिलर फिल्मको गुपचुपमा सुटिङ गरिएको थियो । दिवंगत हुने शनिबार बिहान करिब साढे ८ बजेतिर माल्भिका निलु बस्ने बालुवाटार घरमै भेट्न गएकी थिइन । छोटो भेटमा सामान्य कुराकानी भएको थियो । माल्भिकासँग मिलेर निलु अनलाइन शो ल्याउने तयारीमा थिइन । तर शोको काम सुरु गर्ने तयारी नहुँदै शनिबार मध्यान्ह् अनलाइनमा निलु निधनको खबर फैलियो ।

आफुलाई महिला समलिङ्गीको रुपमा चिनाउने निलु मिलनसार र हँसिलो स्वभावकी थिइन । माल्भिका सुब्बा, प्रियंका कार्की, रेखा थापा, केकी अधिकारी, निशा अधिकारीसँग निलुको मित्रता गाढा थियो । अझ माल्भिका र प्रियंकासँग निलुको सम्बन्ध पारिवारिक थियो । माल्भिकाले निलुको अन्तिम दाह संस्कारको अभिभारा सम्हालिरहेका छिन भने प्रियंका कार्यक्रमको सिलसिलामा हाल अमेरिकामा छिन । निलुको निधनपछि प्रियंकाले फेसबुकको प्रोफाइल पिक्चर ‘डार्क’ बनाएकी छन् । नजिकका साथीहरुको बुझाइमा निलु केही समयदेखि मानसिक तनावमा थिइन । प्रायः एक जना साथी उनको साथमा हुने गर्दथे । साथीहरु सम्झाई बुझाई गर्दथे ।

सुटिङबाट शुक्रबार मात्रै काठमाण्डौ फर्किएकी रेखा थापा र अवार्डको लागि लण्डन गएकी केकी अधिकारी निलुसँग भेटेर लामो कुरा गर्न चाहन्थें । जुन चाहना अब कहिल्यै पुरा हुने छैन । मृत्युको खबर सुन्ने वित्तिकै टिचिङ अस्पताल पुगेकी रेखा थापा निलुको पार्थिव शरिर हेरेर आँसु पुछ्दै बाहिर निस्किइन । केकीले भने सामाजिक सञ्जालमा पनि ‘रिप’ लेख्ने हिम्मत गरेकी छैनन । निलुको असमायिका निधनले धेरैको हिम्मत गुमेको छ अनि होस हराएको छ । तर, शोकलाई शक्तिमा बदल्नु पर्ने बाध्यता छ । किनकी निलु जस्ता धेरैलाई व्यक्तिलाई असमायिक निधनबाट बचाउनु छ ।

हो रहेछ, राम्रो मान्छेहरु चाँडै परलोक जान्छन् । किनभने हामीलाई जस्तै भगवानलाई पनि असल मान्छे प्यारो लाग्छ र छिट्टै लैजान्छन् आफ्नोसाथमा । निलु त्यस्तै मध्ये एक भइन् । तर उनका हर सम्झनाहरु हरपल हामीसँगै रहनेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha